काठमाडौं । बर्खायामको मध्यभागसँगै नेपालमा डेंगु संक्रमण तीव्र रूपमा फैलिएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अनुसार सन् २०२६ को जनवरीयता देशका ७२ जिल्लामा डेंगु संक्रमण पुष्टि भएको छ।

महाशाखाको पछिल्लो तथ्यांकअनुसार हालसम्म देशभर दुई हजार २५ जनामा डेंगु संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये अधिकांश पछिल्लो एक महिनामा फेला परेका हुन्। डेंगुका कारण हालसम्म दुई जनाको मृत्यु भएको ईडीसीडीले जनाएको छ।

प्रदेशगत रूपमा कोशी प्रदेशमा सबैभन्दा धेरै ५६८ संक्रमित रहेका छन् भने गण्डकीमा ५३२, बागमतीमा ३६५, लुम्बिनीमा ३४३, सुदूरपश्चिममा १०३, मधेशमा ७२ र कर्णालीमा ४२ संक्रमित भेटिएका छन्।

ADVERTISEMENT

जिल्लागत रूपमा झापामा सबैभन्दा धेरै २०४ संक्रमित रहेका छन्। त्यसपछि बागलुङमा १८०, सुनसरीमा १६१, पाल्पामा ११६, कास्कीमा ११०, काठमाडौंमा ९७, रूपन्देहीमा ६७, ओखलढुंगामा ६४, गोरखामा ६४ र तनहुँमा ६२ संक्रमित रहेका छन्।

ADVERTISEMENT

किटजन्य रोग विशेषज्ञ डा. गोकर्ण दाहालका अनुसार गत वर्षको तुलनामा यस वर्ष डेंगु संक्रमण करिब ५० प्रतिशतले घटेको भए पनि जोखिम अझै कायम छ। उनका अनुसार डेंगु फैलिने उच्च जोखिमको समय अहिलेबाट भदौसम्म भएकाले विशेष सतर्कता अपनाउन आवश्यक छ।

सरकारले असारको अन्तिमदेखि कात्तिकसम्मको अवधिलाई उच्च जोखिमयुक्त समय मानेर विशेष निगरानी र जनचेतना अभियान सञ्चालन गरिरहेको जनाएको छ। स्वास्थ्य विज्ञहरूले डेंगु नियन्त्रणका लागि लामखुट्टेको प्रजननस्थल नष्ट गर्ने, घर–आँगनमा पानी जम्न नदिने र व्यक्तिगत सुरक्षाका उपाय अपनाउन आग्रह गरेका छन्।