काठमाडौं । नेपाली कांग्रेसका नैनसिंह महर, रञ्जित कर्णलगायतका युवा नेताको अगुवाइमा देश र कांग्रेस जोड्ने अभियान सुरु भएको छ । इतर पक्षले शशांक कोइरालालाई नेता मानेर आगामी साउन २९ गते राष्ट्रिय भेलामार्फत नयाँ दल खोल्ने तयारी गरेसँगै नेविसंघका पूर्वअध्यक्ष महर र कर्णको अगुवाइमा देश र कांग्रेस जोड्ने अभियान सुरु भएको हो ।
यसका लागि आइतबार पत्रकार सम्मेलन गरेर अभियानबारे जानकारी गराइएको छ । ‘आज हामी नेपाली काग्रेसको मात्र होइन, लोकतान्त्रिक नेपालको भविष्यसँग जोडिएको एउटा गम्भीर विषय लिएर यहाँ उपस्थित भएका छौं। लामो समयदेखि पार्टीभित्र देखिएको मतभेद, अविश्वास र आन्तरिक किचलोले संगठनलाई कमजोर बनाएको छ। आज पार्टी एकताको गम्भीर परीक्षणबाट गुजिरहेको छ।
नेपालको राजनीतिक इतिहासले एउटा सल्य पटकपटक प्रमाणित गरेको छ, जब नेपाली कांग्रेस कमजोर हुन्छ, लोकतन्त्र कमजोर हुन्छ: जब कांग्रेस विभाजित हुन्छ, लोकतान्त्रिक शक्तिहरू र राष्ट्रिय हितमाथि प्रतिगामी शक्तिहरु हाबी हुने वातावरण बन्छ,’ अभियानले जारी गरेको विज्ञप्तिमा भनिएको छ । अभियानले कांग्रेसको एकता कुनै दलगत स्वार्थको विषय नभई लोकतन्त्रको रक्षा र राष्ट्रको स्थायित्वसँग जोडिएको राष्ट्रिय दायित्व भएको स्पष्ट पारिएको छ ।
‘दुर्भाग्यवश राष्ट्रिय मुद्दामा सरकार प्रभावकारी रूपमा प्रस्तुत हुन नसकेको जनगुनासो बढिरहेको छ। अर्कोतर्फ, जनताको आवाज बुलन्द गर्नुपर्ने प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस आफ्नै आन्तरिक विवादमा अल्झिनु लोकतन्त्रका लागि पनि चिन्ताको विषय बनेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यही परिस्थितिलाई आत्मसात् गर्दै हामीले देश र कांग्रेस जोड्ने अभियान सुरु गरेका छौं। हाम्रो विश्वास छुएकताबद्ध कांग्रेसले मात्र जनताको विश्वास पुन: जित्न सक्छ लोकतन्त्रको प्रभावकारी रक्षा गर्न सक्छ र देशलाई सही राजनीतिक दिशामा अघि बढाउन सक्छ।’
पत्रकार सम्मेलनमा राष्ट्रियसभा सदस्यसमेत रहेका कर्णले आफ्नो पार्टी कमजोर वा विभाजित हुँदा देशले राजनीतिक र आर्थिक रूपमा ठूलो क्षति व्यहोर्नुपर्ने बताए ।
‘यो सबैलाई थाहा छ, इतिहास साक्षी छ । जबजब कांग्रेस कुनै कारणले, चाहे आन्तरिक गुटबन्दीका कारण होस् वा वैचारिक मतभेदका कारण, कमजोर भयो वा विभाजित भयो, तबतब देशले राजनीतिक र आर्थिक रूपमा ठूलो दुर्घटना व्यहोरेको छ,’ उनले भने ।





