काठमाढौं । अहिलेको राजनीतिक परिदृश्य हेर्दा धेरैलाई कांग्रेस विभाजित भइसक्यो भन्ने लागेको छ । तर ठ्याक्कै त्यस्तो पनि होइन ।

यदि विशेष महाधिवेशन पक्षसँग बहुमत नभएको भए पुस २७ गते नै सभापति शेरबहादुर देउवाले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई निस्कासन गरिसक्थे । तर ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेको विशेष महाधिवेशन भएकाले संस्थापन पक्ष रोकिएको हो ।

ADVERTISEMENT

यस्तो अवस्थामा पनि देउवा निकट कृष्णप्रसाद सिटौला, मोहनबहादुर बस्नेत, किशोरसिंह राठौरलगायत गगन र विश्वलाई तत्काल पार्टीबाट निकाल्नुपर्ने भन्दै उक्साइरहेका छन् । तर भोलि कुन पक्ष आधिकारिक भन्ने कानुनी लडाइँमा विशेष महाधिवेशन पक्षधरले जित्ने डरकै कारण देउवा हच्किएका हुन् । त्यही भएर जतिपटक वार्तामा बसे पनि अहिलेसम्म ठोस निकास ननिस्केको हो ।

विश्लेषकहरूले यो कदमले नेपाली कांग्रेसभित्रको गुटबन्दीलाई अझ उक्साउने र आगामी समयमा पार्टीको एकता परीक्षणमा पर्ने संकेत दिएको टिप्पणी गरेका छन्। यस्तो अवस्थामा पार्टी कार्यबाहक सभापति पूर्णबहादुर खड्का पनि खरो सुनिएका छन् । ‘हिजोजस्तो भेला भएर मात्र बस्ने अवस्था छैन, आज हामी एउटा निर्णायक कदम चाल्नेछौँ’, उनले भने, ‘अब फुटको संघारमा पार्टी पुगेको छ। निर्वाचन प्रक्रिया रोक्न आग्रह गर्दा उहाँहरुले मान्नुभएन। आज हामी चुपचाप बस्ने स्थिति होइन, केही निर्णय अवश्य हुनेछ।’

ADVERTISEMENT

खड्काले यसो भन्दै गर्दा फेरि नयाँ ट्विस्ट आएको छ । देउवा समूहले विशेष महाधिवेशन पक्षधरबाट नयाँ प्रस्ताव आएको बताएको छ। उनीहरुले विशेष महाधिवेशन पक्षधरबाट नयाँ प्रस्ताव आएकाले त्यसमा छलफल भइरहेको बताएका छन् । देउवाले टिकटमा हस्ताक्षर नगर्ने र गगन थापालाई प्रधानमन्त्रीको भावी उम्मेदवार घोषणा गरेर जाने प्रस्ताव आएको हुँदा त्यसमा छलफल केन्द्रित रहेको बताइएको छ ।

देउवाले आफू टिकटमा हस्ताक्षर नगर्न तयार रहेको जनाउ दिनु र कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले नाम फेर्ने प्रस्ताव आएमा छलफल गर्न सकिने बताउनुले कांग्रेस विभाजनमा नजाने सम्भावना पनि छ । तर अहिलेसम्म यसबारे कुनै निर्णय भएको भने छैन ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले अहिलेसम्म कुनै निवेदन नआएको बताएका छन् । यदि आएमा माघ ६ गते प्रत्यक्षतर्फको टिकटमा हस्ताक्षर गर्नेको नाम फेर्न सकिनेछ । त्यसो भएमा कांग्रेस पूर्णबहादुर खड्काको हस्ताक्षरमा टिकट वितरण गर्नेछ ।

कांग्रेसको यसअघिको केन्द्रीय कार्यसमितिको बैठकबाट निर्णय गरी सभापति देउवाको हस्ताक्षर निर्वाचन आयोग पठाइएको थियो । सोहीअनुसार आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचन र फागुन २१ गते हुने प्रतिनिधिसभामा समानुपातिकतर्फको पार्टीका टिकट वितरण भइसकेको छ । अब प्रत्यक्षतर्फको मात्र टिकट वितरण हुन बाँकी छ ।