काठमाडौं: प्रधानमन्त्री वालेन्द्र शाहले मधेसबाट प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका नेताहरूसँग छलफल प्रारम्भ गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छलफलमा सुनसरीसहित मधेसका केही जिल्लामा देखिएको पछिल्लो तनाव र त्यसको समाधानका उपायबारे केन्द्रित भएर संवाद भइरहेको छ।

प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार छलफलमा शान्ति, सुरक्षा, सामाजिक सद्भाव कायम राख्ने तथा देखिएको तनावलाई संवादमार्फत समाधान गर्ने विषयमा विचारविमर्श भइरहेको छ।

ADVERTISEMENT

बैठकमा जनमत पार्टीका अध्यक्ष डा. सीके राउत, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नेता राजेन्द्र महतो, लालबाबु राउत, समिम मियाँ अन्सारी, राम के. शर्मा, प्रभु शाह, अमरेशकुमार सिंह, शरतसिंह भण्डारी, जयकान्त राउतलगायत मधेसबाट प्रतिनिधित्व गर्ने विभिन्न दलका नेताहरू सहभागी हुनुहुन्छ।

सरकारले पछिल्ला घटनाक्रमलाई गम्भीर रूपमा लिँदै राजनीतिक संवादमार्फत समाधान खोज्ने प्रयासलाई प्राथमिकतामा राखेको जनाएको छ। छलफलबाट प्राप्त सुझावका आधारमा आवश्यक निर्णय र थप पहल अघि बढाइने अपेक्षा गरिएको छ।

ADVERTISEMENT