चीनको सान्या सहरमा सम्पन्न हाइनान बिच तेक्वान्दो ओपन च्याम्पियनसिपमा नेपाली टोलीले १२ स्वर्णसहित कुल ३४ पदक जित्दै उल्लेखनीय सफलता हासिल गरेको छ। जुलाई २७ देखि २९ सम्म सान्या तेक्वान्दो एसोसिएसनको आयोजनामा भएको प्रतियोगितामा नेपालले १२ स्वर्ण, ८ रजत र १४ कास्य पदक जितेको हो।

ग्यारोगी, पुम्से, फिस्ट ब्रेकिङ र जम्प रोप विधामा प्रतिस्पर्धा गरेको नेपाली टोलीका अनुप शाक्य र हृदयानी बस्नेतले दोहोरो स्वर्ण जित्दै उत्कृष्ट प्रदर्शन गरे। अनुपले ग्यारोगी ३२ केजी र १०–१२ वर्ष उमेर समूहको पुम्सेमा स्वर्ण तथा जम्प रोपमा कास्य जिते। हृदयानीले ग्यारोगी ३४ केजी र जम्प रोपमा स्वर्ण तथा १२–१४ वर्ष उमेर समूहको पुम्सेमा रजत पदक हात पारिन्।

ADVERTISEMENT

अस्टिन पाण्डे, जोलिना बस्नेत, सोहन पाठक, एमी कार्की, छुल्टिम लामा, सबिन विश्वकर्मा, देवराज खम्छा र कुश योग सुनुवारले पनि विभिन्न विधामा स्वर्ण जित्दै नेपालको पदक संख्या बढाए। यस्तै लभ योग सुनुवार, सिरजल ढकाल, दीपश्री तामाङ, पार्वती बस्नेत, करुण नेपाली र निर्मला ठाडालगायत खेलाडीले रजत तथा कास्य पदक जिते।

ADVERTISEMENT

नेपाली टोलीकी प्रशिक्षक काजल श्रेष्ठले खेलाडीहरूको प्रदर्शन प्रशंसनीय रहेको बताउँदै अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्दा देशको पहिचानसँगै खेलाडीको आत्मविश्वास पनि बढ्ने बताइन्। उत्कृष्ट प्रशिक्षणका लागि श्रेष्ठ ‘उत्कृष्ट कोच’ घोषित भइन् भने नेपालका अन्तर्राष्ट्रिय रेफ्री कुमार लामा घिसिङ ‘उत्कृष्ट रेफ्री’का रूपमा सम्मानित भए।

प्रतियोगितामा नेपालसहित १६ राष्ट्रका करिब ४०० खेलाडीको सहभागिता रहेको थियो। नेपाली टोलीलाई उत्साह प्रदान गर्न राष्ट्रिय खेलकुद परिषद्का खेलकुद विकास विभाग प्रमुख चन्द्रकुमार राई, निजगढ नगरपालिकाकी उपप्रमुख सोममाया थिङ र मधेश प्रदेश तेक्वान्दो संघका महासचिव राजकुमार लामा पनि प्रतियोगितास्थल पुगेका थिए।