काठमाडौं । देशका विभिन्न जिल्लाबाट न्यायको खोजीमा काठमाडौं आइपुगेका लघुवित्त पीडितहरू बस्ने कुनै सुरक्षित ठाउँ नपाएपछि माइतीघरलाई नै आफ्नो अस्थायी बास बनाएका छन्।

लगातार परिरहेको वर्षाबाट जोगिन कसैले प्लास्टिक ओढेका छन् भने कसैले लगाउने कपडालाई नै त्रिपाल बनाएर त्यसैमुनि रात कटाइरहेका छन् भने कोही नजिकैको घरको पेटीमा कोही गाडी पार्किंगमा केही पीडित सुत्न नसक्दा रातभरी नै यताउति हिँडिरहेका देखिन्थे ।

ADVERTISEMENT

आमरण अनशनमा बसेका उनीहरूको शरीर कमजोर बन्दै गएको छ, तर माग भने उही छ राज्यले आफ्ना आवाज सुनोस् र न्याय देओस्।
माइतीघरको सडक किनारमै केही दिनदेखि उनीहरूको दैनिक जीवन चलिरहेको छ। बिहानदेखि बेलुकासम्म आन्दोलन, साँझ भएपछि त्यहीँ खाना पकाउने, खाने र रात पर्नासाथ प्लास्टिकको ओतमा निदाउने प्रयास। वर्षा, चिसो र असुविधाबीच बितिरहेको उनीहरूको दैनिकी आन्दोलनको अर्को कठोर पाटो बनेको छ।

ADVERTISEMENT

आन्दोलनकारीहरू भन्छन्, राज्यले लामो समयदेखि आफ्ना पीडाप्रति बेवास्ता गरेकाले पटक पटक राजधानी आएर आन्दोलन गर्नुपरेको हो। बस्ने ठाउँको व्यवस्था नहुँदा माइतीघरमै रात बिताउनु उनीहरूका लागि बाध्यता बनेको छ।

रात जति गहिरिँदै जान्छ, माइतीघरको चिसो पनि त्यति नै बढ्छ। तर न्यायको आशामा राजधानी आएका यी लघुवित्त पीडितहरूको प्रतीक्षा अझै सकिएको छैन।

ADVERTISEMENT