काठमाडौँ। काठमाडौँ महानगरपालिकाले बसुन्धरामा सञ्चालन भइरहेको मोर्गन इन्टरनेशनल सेकेन्डरी स्कुलमा बिहीबार संयुक्त अनुगमन गरेको छ। महानगरका विभिन्न विभागका प्रतिनिधिहरू सम्मिलित टोलीले विद्यालयको सञ्चालन, शुल्क संरचना, छात्रवृत्ति वितरण र नियामक मापदण्डको पालना सम्बन्धी विषयमा विस्तृत जाँच गरेको हो।
शहरी योजना आयोगका सदस्य शैलेन्द्र झाका अनुसार, शिक्षा विभागमा दर्ता भएका गुनासोहरूको आधारमा गरिएको अनुगमनमा विद्यालयमा धेरै गम्भीर अनियमितता भेटिएका छन्। उनले भने, “पहिले मौखिक रूपमा चेतावनी दिइए पनि समस्या समाधान नभएपछि हामी टोलीसहित मैदानमा उत्रिएका हौँ। अनुगमनपछि विद्यालयको भौतिक संरचना, वैधानिक अनुमति र सञ्चालन पद्धतिबारे प्रश्न उठेका छन्।”

छात्रवृत्ति र शुल्कमा अनियमितता
अनुगमन टोलीका सदस्यहरूका अनुसार विद्यालयले छात्रवृत्ति पाउने विद्यार्थीहरूसमेतबाट शुल्क असुल गरेको र मासिक २४ हजारदेखि ३० हजार रुपैयाँसम्मको शुल्क तोकेको उजुरी प्राप्त भएको छ। शिक्षा विभागका निमित्त प्रमुख केशव ज्ञवालीले यसअघि पनि विद्यालयलाई अनधिकृत शुल्क फिर्ता गर्न निर्देशन दिइएको तर गुनासो दोहोरिएको बताए।
अनुमति पत्रमा कैफियत , पूर्वाधार र अन्य कमजोरीहरू
विद्यालयको क्यान्टिन सञ्चालन, भौतिक पूर्वाधारको अवस्था, र सञ्चालन अनुमति पत्रमा समेत कमजोरी देखिएको छ। विद्यालयले आफूलाई ‘इन्टरनेशनल’ दाबी गरे पनि, अन्तराष्ट्रिय स्तरका पाठ्यक्रम, दक्ष शिक्षक र आवश्यक पूर्वाधार उपलब्ध नभएको झाले बताए।

तीन दिनको समयसीमा
महानगरले विद्यालयलाई सञ्चालन अनुमति पत्र, शुल्क तथा छात्रवृत्ति विवरण, कर र राजस्व अभिलेख, स्थानान्तरण सम्बन्धी कागजात र भौतिक पूर्वाधारका प्रमाणित प्रतिलिपि तीन दिनभित्र पेश गर्न निर्देशन दिएको छ। निर्धारित समयमा कागजात नआए कानुनी कारबाही अघि बढाइने चेतावनी दिइएको छ।
विशेष अनुगमन अभियान
हाल महानगरले निजी र सामुदायिक विद्यालयहरूमा छात्रवृत्ति कार्यान्वयनको अवस्थाबारे विशेष अनुगमन अभियान सञ्चालन गरिरहेको छ। सहरी योजना आयोगका सहायक विज्ञ सस्मित पोखरेलका अनुसार, मोर्गन इन्टरनेशनलको घटनाले निजी विद्यालयमा पारदर्शिता र जवाफदेहिताको आवश्यकता अझै स्पष्ट पारेको बताए ।












