काठमाडौं । नेदरल्यान्ड्समा जारी आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक शृङ्खलाको चौथो तथा अन्तिम खेलमा नेपालले घरेलु टोली नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गरिरहेको छ।

अघिल्ला तीन खेलमा कमजोर ब्याटिङका कारण पराजित भएको नेपाल आजको खेलमा ब्याटिङ सुधार गर्दै जित निकाल्ने लक्ष्यमा रहेको छ। टस जितेर नेपालले फिल्डिङ रोजेपछि नेदरल्यान्ड्सले पहिले ब्याटिङ गरिरहेको छ।

ADVERTISEMENT

यसअघि शृङ्खलाको पहिलो खेलमा नेपाल नामिबियासँग आठ विकेटले पराजित भएको थियो। दोस्रो खेलमा घरेलु टोली नेदरल्यान्ड्ससँग ६ विकेटले हार बेहोरेको नेपाल तेस्रो खेलमा पनि नामिबियासँग तीन रनले स्तब्ध बनेको थियो।

ADVERTISEMENT

लगातारको हारपछि नेपाल आईसीसी विश्वकप लिग–२ को अंक तालिकामा दबाबमा परेको छ। नेपालले ३१ खेलबाट २४ अंक जोड्दै छैटौँ स्थानमा रहेको छ। समान खेल खेलेको नामिबिया २६ अंकसहित पाँचौँ स्थानमा छ भने ३० खेलबाट ३६ अंक जोडेको नेदरल्यान्ड्स तेस्रो स्थानमा छ।

आठ टोली सहभागी लिग–२ मा प्रत्येक टोलीले कुल ३६ खेल खेल्नेछन्। प्रतियोगिताको शीर्ष चार स्थानमा रहने टोलीले विश्वकप ग्लोबल क्वालिफायरमा स्थान बनाउनेछन् भने एकदिवसीय मान्यता कायम राख्न शीर्ष ६ स्थानमा रहनुपर्नेछ।

ADVERTISEMENT

नेपालका लागि बाँकी खेलमा अंक जोड्नु निकै महत्वपूर्ण रहेको छ। नेदरल्यान्ड्सविरुद्धको अन्तिम खेलमा जित निकाल्न बलिङसँगै ब्याटिङमा पनि सुधार आवश्यक देखिएको छ।