नेपालगञ्ज । बाँके जिल्ला अदालतले खाद्य स्वच्छता तथा गुणस्तर ऐनविपरीत खाद्य पदार्थ उत्पादन तथा बिक्री गरेको ठहर गर्दै दुई व्यवसायीलाई सजाय र जरिवाना गरेको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नेपालगञ्जले दायर गरेका दुई छुट्टाछुट्टै मुद्दामा अदालतले दोषी ठहर गर्दै फैसला सुनाएको हो।
जिल्ला न्यायाधीश राजु ढुङ्गानाको इजलासले कोहलपुर–११ स्थित अस्मिता चाउमिन उद्योगका सञ्चालक पर्शुराम घिमिरेलाई खाद्य स्वच्छता तथा गुणस्तर ऐनअन्तर्गत दोषी ठहर गर्दै एक वर्ष कैद सजाय सुनाएको छ।
त्यस्तै, जिल्ला न्यायाधीश इन्दिरा शर्माको इजलासले नेपालगञ्ज–२ स्थित गौरी मिनी मार्टका सञ्चालक रामजी वैश्यलाई रु ५० हजार जरिवाना गर्ने फैसला गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नेपालगञ्जका प्रमुख प्रशान्त पोखरेलले जानकारी दिए।
गौरी मिनी मार्टबाट बिक्री भइरहेको मास दालको नमूना परीक्षण गर्दा प्रतिबन्धित बाह्य रङ प्रयोग भएको प्रमाणित भएपछि मुद्दा दायर गरिएको थियो। अदालतले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले गरेको बजार अनुगमन, नमूना सङ्कलन, प्रयोगशाला परीक्षण तथा अनुसन्धानलाई प्रमाणका रूपमा स्वीकार गरेको जनाएको छ।
यसैबीच, कार्यालयले बर्दियाको गुलरियास्थित आनन्द ड्रिङकिङ वाटर उद्योगको प्रशोधित पानी तथा बाँसगढीस्थित सिजी फुड्स इन्टरप्राइजेज प्रालिले उत्पादन गरेको वाइवाइसहित चार ब्रान्डका तयारी चाउचाउ बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ।
कार्यालयले गत आर्थिक वर्षमा ५४० स्थानमा बजार अनुगमन गरी कैफियत भेटिएका रु ६ लाख ३८ हजार ८६४ बराबरका खाद्य तथा दाना पदार्थ नष्ट गरेको जनाएको छ।








