काठमाडौं । माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र एकीकृत समाजवादीका सम्मानित नेता फस्ट मेनको दौडमा छैनन् । तर पनि उनीहरूले आफूलाई चर्चामा ल्याइरहन्छन् ।

खनाल र श्रेष्ठ जनाधारविहीन कम्युनिस्ट नेतामा पर्छन् । जो राजनीतिको उत्तरार्धमा छन् । दुवै नेताको पार्टीमा केही चल्दैन । पार्टीको वरीयतामा दुवै दोस्रो छन् । खनालको कुरा अध्यक्ष माधवकुमार नेपालले सुन्दैनन् । श्रेष्ठलाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै पत्याउँदैनन् । तर पनि श्रेष्ठले आफूलाई केन्द्रमा राख्न कुनै कसर बाँकी राखेका छैनन् ।

ADVERTISEMENT

केही समयअघि उनी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी भेट्न उनको भंगालस्थित निवास पुगे । उनले भण्डारीसँग वामपन्थी दलबीच एकता हुनुपर्ने भन्दै एमाले र माओवादीबीच पार्टी एकता गर्न प्रस्ताव राखे । तर श्रेष्ठको त्यो प्रस्ताव उनी अमेरिका पुगेपछि मात्र नेतृत्वले चाल पायो । र, हतार हतार पार्टी एकता श्रेष्ठको व्यक्तिगत विचार भन्दियो ।

तिनै श्रेष्ठले एकीकृत समाजवादीका सम्मानित नेता खनालसँग आइतबार भेटवार्ता गरेका छन् । खनाललाई भेट्न वरिष्ठ उपाध्यक्ष श्रेष्ठ आज डल्लुस्थित उनकै निवासमा पुगेका थिए । भेटवार्ताका क्रममा नेपालको कम्युनिष्ट आन्दोलनमा आइरहेको विग्रहको बारेमा र कम्युनिष्ट आन्दोलनलाई कसरी एकताबद्ध गर्न सकिन्छ भन्ने बारेमा छलफल भएको बताइएको छ ।

ADVERTISEMENT

साथै, अबको अवस्थामा वैज्ञानिक समाजवाद प्राप्तिको लक्ष्यलाई अगाडि बढाउन कार्यनीति र बाटाहरू के–के हुनसक्छन् भन्नेबारेमा पनि छलफल भएको थियो । एकीकृत समाजवादी र माओवादीबीच एकताको प्रसंग पनि उठाएका थिए । जवाफमा खनालले आफू वामपन्थी एकताको पक्षमा रहेको जवाफ दिएका थिए । डेढ घन्टा डल्लु वार्ता खासै उपलब्धि नभएपछि श्रेष्ठ हात्तीवन फर्केका थिए ।

खनालले शनिबार डल्लुमा पार्टीका वरिष्ठ नेता वामदेव गौतमसँग चार घन्टा कुराकानी गरेका थिए ।