काठमाडौं । माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ यतिबेला विभिन्न दलका शीर्ष नेतासँग भेटवार्तामा व्यस्त छन् । माओवादीले २०८४ को निर्वाचनमा कुनै दलसँग पनि एकता नगरी एक्लै बहुमत ल्याउने भनिरहेका बेला श्रेष्ठ भने विभिन्न दलका शीर्ष नेतासमक्ष एकताको प्रस्ताव राख्नमै व्यस्त छन् । यसले उनलाई चुनावमा माओवादी एक्लैले पार लगाउला भन्ने विश्वास छैन ।
अमेरिकाको एक महिने भ्रमण पूरा गरी स्वदेश फर्केका श्रेष्ठले यसबीचमा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवसँग भेटवार्ता गरिसकेका छन् । उनले सबै भेटवार्तामा पार्टी एकताको प्रस्ताव राख्ने गरेका छन् ।
यसअघि श्रेष्ठले एकीकृत समाजवादीका सम्मानित नेता खनालसँग डल्लु निवास पुगेर भेट गरेका थिए । त्यसअघि एकीकृत समाजवादीकै महासचिव भुसालसँग आफ्नै निवासमा भेट गरेका थिए ।
श्रेष्ठले सोमबार बिहा जनता समाजवादी दल नेपालका अध्यक्ष उपेन्द्र यादवलाई भेटेका थिए । श्रेष्ठ निवास हात्तीवनमा भएको भेटवार्तामा समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ । उपेन्द्र पनि विगतमा कम्युनिस्ट पृष्ठभूमिबाट आएकाले पनि श्रेष्ठले उनीसँग पार्टी एकता नभए सहकार्यको प्रस्ताव गरेको बुझिएको छ । श्रेष्ठ माओवादीका उपाध्यक्ष मात्र हुन् । उनलाई अन्य दलका नेतासँग पार्टी एकता गर्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खटाएको नेताहरुको भनाइ छ ।
अमेरिका जानुअघि श्रेष्ठले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग दुई दुईचोटि उनकै निवास भंगालमा भेटेका थिए । तर त्यो भेटवार्ता गोप्य राखिएको थियो । श्रेष्ठले भण्डारीसँग वामपन्थी एकताको प्रस्ताव गरेका थिए ।






