काठमाडौं । माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई तरंगित नहुन सुझाव दिएका छन् ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई आफूलाई थाहै नदिई भेटेको र भेटेपछि पनि जानकारी नगराएको भन्दै प्रचण्डले असन्तुष्टि व्यक्त गरेपछि श्रेष्ठले राजनीतिक मान्छे भएर आफूले भेटेको भन्दै जवाफ फर्काएका छन् ।
अमेरिका भ्रमणमा रहेका उपाध्यक्ष श्रेष्ठले शनिबार टेक्सासमा पत्रकारसँग कुराकानी गर्दै पूर्वराष्ट्रपति भण्डारीलाई भेटेको विषयलाई लिएर पार्टी नेतृत्व तरंगित हुन नपर्ने उल्लेख गरे । उनले प्रचण्ड र अन्य पदाधिकारीले पनि पार्टीमा निर्णय गराएर भेट गर्ने नगरेको उल्लेख गरे। श्रेष्ठले जेठ २७ गते पनि भण्डारीलाई भेटेको रहस्य खुलेको छ । यो विषय माओवादीमा पेचिलो बन्दै गएको छ ।
‘राजनीतिक मान्छेले राजनीतिक भेटघाट भइरहन्छ। सबै पार्टीले निर्णय गरेर भेटघाट हुँदैन,’ उनले भने, ‘अब अध्यक्षज्यूले क–कसलाई भेट्नुहुन्छ, पार्टीमा निर्णय गराएर कहिल्यै भेट्नुभएको छैन, उहाँलाई मैले फलानोलाई भेट्नुभएछ भनेर भन्न मिल्छ ? अरु उपाध्यक्ष, महासचिवले पनि भेट्नु भएको होला। मेरो व्यक्तिगत भेटघाट हो त्यो। पार्टीले निर्णय गरेर होइन।’
पूर्वउपप्रधानमन्त्री श्रेष्ठले प्रधानमन्त्रीभन्दा माथिल्लो पदमा गएका राष्ट्रपति, उपराष्ट्रपतिहरु सक्रिय राजनीतिमा आउन नहुने बताए । उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र नन्दबहादुर पुनसँगको भेटमा पनि र पार्टी बैठकमा पनि यो विषय उठाएको जानकारी गराए। उनले वामपन्थी एकताको तत्काल सम्भावना नदेखेको दाबी गरे।
भण्डारीलाई भेटेर वाम एकताको प्रस्ताव गरिएको हो भन्ने प्रश्नमा उनले भने, ‘अहिलेलाई वामपन्थी एकताको तत्काल कुनै सम्भावना मैले देखेको छैन। बरु, मैले प्रधानमन्त्रीभन्दा माथिल्लो पदमा गएका राष्ट्रपति, उपराष्ट्रपतिहरू सक्रिय राजनीतिमा आउनु हुँदैन। मैले विद्यादेवी भण्डारीसँगको भेटमा पनि भनेको छु। पार्टी बैठकमा पनि भनेको थिएँ। विशेषतः सम्मानीय व्यक्तिका बारेमा समाजमा पहिले नै एउटा धारणा तय भएपछि उहाँहरु सक्रिय राजनीतिमा फर्कनु हुँदैन।’






