काठमाडौं । माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले तत्काल एकीकृत समाजवादीसँग एकता नगर्न आगह्र गरेका छन् । उनले माधव नेपाल नेतृत्वको पार्टीसँग एकता गर्दा सिंगो पार्टीलाई नै गराउनुपर्ने बताएका छन् ।

एकताबारे निर्णय लिन बुधबार एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्नुअघि नेता श्रेष्ठले यस्तो बताएका हुन् । ‘नेपाली कम्युनिस्ट आन्दोलनको वैचारिक सांस्कृतिक रूपान्तरण, एकीकरण र पुनर्गठन आजको आवश्यकता हो र त्यस दिशामा सार्थक पहल समयको निर्देश हो । तर, एकीकरण प्रक्रियालाई समग्र कम्युनिस्ट आन्दोलनले माग गरे अनुसारको रूपान्तरण र पुनर्गठनसहितको एकीकरणको रूपमा अघि बढाउन सकिए मात्र त्यो औचित्यपूर्ण र सकारात्मक परिणामयुक्त हुनेछ,’ उनले भनेका छन् ।

ADVERTISEMENT

माओवादी र एकीकृत समाजवादीको एकता प्रक्रियालाई पनि समग्र कम्युनिस्ट आन्दोलनले मागअनुसार नै हेर्नुपर्ने उनको तर्क छ । ‘तर यो एकता प्रक्रियाले समग्र कम्युनिस्ट आन्दोलनको रूपान्तरण एवं पुनर्गठन अभियानको प्रस्थान विन्दुको भूमिका खेल्न सक्नु पर्छ र सम्बन्धित पार्टीहरू विभाजित भएर होइन समाष्टिरूपमा नै एकता प्रक्रियामा सामेल हुने सुनिश्चित हुनुपर्छ । त्यस निम्ति धैर्यतापूर्वक प्रयत्न गरौँ,’ उनले भनेका छन् । हतार गरेर न समग्र एकता, न सार्थक पुनर्गठनको स्थिति नबनोस् भन्नेमा सचेत हुनुपर्ने उनको भनाइ छ ।

माओवादीभित्र पनि असन्तुष्टि देखिएको छ । माअ‍ेवादीमा उपमहासचिव जनार्दन शर्माले असन्तुष्टि जनाइसकेका छन् । पार्टीभित्र लामो समयदेखि प्रचण्ड र वर्षमान पुनबीचको आन्तरिक शक्ति–सन्तुलनका कारण प्रभाकर असहज स्थितिमा पुगेको अनुमान लगाउन सकिन्छ ।

ADVERTISEMENT

माओवादी र एकीकृत समाजवादीबीच एकीकरणको अन्तिम तयारी भएको छ । माओवादी र एकीकृत समाजवादीले पार्टी एकीकरण गरी नयाँ दलको नाम ‘नेकपा समाजवादी केन्द्र’ राख्ने तयारी छ । माओवादीका अनुसार दल दर्ताका लागि आवश्यक कागजातको तयारी भइरहेको छ । यो प्रक्रिया कात्तिक २० गते वा २१ गतेसम्म पूरा गर्ने लक्ष्य राखिएको छ।

तर सबै वाम घटक उक्त एकीकरणमा सहमत देखिएका छैनन् । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा (विप्लव) ले नयाँ पार्टीमा सहभागी नहुने निर्णय गर्दै मंगलबार निर्वाचन आयोगमा दल दर्ताको तयारी थालेको छ ।