काठमाडौं । निर्देशक तथा अभिनेत्री दीपाश्री निरौला मस्तिष्कको ट्युमरको सफल शल्यक्रियापछि १८ दिन लामो उपचार पूरा गरेर अस्पतालबाट डिस्चार्ज भएकी छन्।
माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचाररत निरौलाको स्वास्थ्यमा उल्लेखनीय सुधार आएपछि बिहीबार डिस्चार्ज गरिएको हो।
यसअघि अस्पताल प्रशासनले दीपाश्रीको मस्तिष्कमा रहेको ट्युमर सफलतापूर्वक पूर्ण रूपमा निकालिएको र उनको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिएको थियो।
अभिनेता तथा निर्माता दीपकराज गिरीले सामाजिक सञ्जाल फेसबुकमार्फत दीपाश्री अस्पतालबाट डिस्चार्ज भएको जानकारी सार्वजनिक गरेका हुन्।
अस्पतालबाट बाहिरिने क्रममा दीपाश्रीले आफ्नो उपचारमा अहोरात्र खटिएका चिकित्सक, स्वास्थ्यकर्मी, अन्नपूर्ण न्यूरो अस्पताल परिवार तथा स्वास्थ्यलाभको कामना गर्दै अस्पताल पुगेका सबै शुभेच्छुकप्रति आभार व्यक्त गरेकी छन्।





