काठमाडौं – सरकारले बाढी, पहिरो लगायतका विपद्को पूर्वचेतावनी छिटो र प्रभावकारी रूपमा नागरिकसम्म पुर्याउन ‘सेल ब्रोडकास्ट’ (Cell Broadcast) प्रणाली लागू गर्ने तयारी थालेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख प्रदीपकुमार कोइरालाको अध्यक्षतामा गृह मन्त्रालयका प्रतिनिधिसहित सरोकारवाला निकायबीच सोमबार यस प्रणाली कार्यान्वयनबारे छलफल भएको हो।
प्राधिकरणका अनुसार मोबाइल सञ्चारको ‘रेडियो एक्सेस नेटवर्क’ प्रयोग गर्ने यस प्रणालीमार्फत जोखिमयुक्त क्षेत्रमा रहेका सबै नागरिकका मोबाइल फोनमा एकैपटक पूर्वचेतावनी सन्देश पठाउन सकिनेछ।
बाढी पूर्वानुमान महाशाखाका प्रमुख तथा बाढीविद् विनोद पराजुलीका अनुसार हाल प्रयोगमा रहेको एसएमएस प्रणाली ढिलो पुग्ने, कतिपयले नहेर्ने तथा सन्देश डेलिभरीमा समय लाग्ने समस्या छ। तर ‘सेल ब्रोडकास्ट’ प्रणाली लागू भएपछि मोबाइलमा विशेष साइरनसहित चेतावनी सन्देश तत्काल प्राप्त हुने भएकाले रातिको समयमा समेत नागरिकलाई समयमै सचेत गराउन सहज हुनेछ।
यो प्रणालीमार्फत लाखौँ नागरिकलाई एकैपटक सूचना पठाउन सकिनेछ। बाढी–पहिरोसँगै अन्य प्राकृतिक तथा मानवीय विपद्का बेला पनि यही प्रणाली प्रयोग गर्ने सरकारको योजना छ।
प्राधिकरणका अनुसार गत वर्षदेखि यसको सम्भाव्यता अध्ययन भइरहेको छ। प्रारम्भिक अनुमानअनुसार प्रणाली कार्यान्वयनका लागि करिब ४० देखि ७५ करोड रुपैयाँ लागत लाग्न सक्नेछ।
सम्बन्धित सरकारी निकायबीच आवश्यक समन्वय र थप प्राविधिक छलफल जारी रहेको जनाइएको छ।












