काठमाडौं । सरकारले सोमबार काठमाडौं उपत्यकाका मोबाइल प्रयोगकर्तामाझ ‘सेल ब्रोडकास्ट प्रणाली’ परीक्षण गर्ने भएको छ ।
परीक्षणका क्रममा उपत्यकाका केही मोबाइलमा आवाज र भाइब्रेसनसहित आपतकालीन सतर्कता सन्देश आउन सक्ने भएकाले नआत्तिन सरकारले आग्रह गरेको छ ।
सूचना तथा सञ्चार मन्त्रालय र गृह मन्त्रालयले संयुक्त सूचना जारी गर्दै मोबाइलमा परीक्षण सन्देश प्राप्त भए कुनै कदम चाल्न आवश्यक नरहेको स्पष्ट पारेका छन् ।
‘नेपालमै विकसित सेल ब्रोडकास्ट प्रविधिको परीक्षण भइरहेको छ । परीक्षण सन्देश प्राप्त भएमा नआत्तिनुहोस्, कुनै कदम चाल्नु पर्दैन,’ दुवै मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेका अनुसार बलम्बुस्थित नेपाल टेलिकमको अर्थ स्टेसनबाट प्रणालीको परीक्षण भइरहेको छ । परीक्षणका क्रममा सीमित उपभोक्ताको मोबाइलमा मात्रै सन्देश पुग्न सक्ने उनले बताएका छन् ।
गत भदौ १० गतेको भोटेकोशी बाढीपछि नेपाल टेलिकम र एनसेलले प्रभावित क्षेत्रका मोबाइल प्रयोगकर्तालाई बाढीसम्बन्धी सतर्कता सन्देश पठाएका थिए ।
तर, सन्देश समयमा नपुगेको र कतिपयले ढिलो गरी मात्रै देखेको भन्दै विद्यमान प्रणालीको प्रभावकारितामाथि प्रश्न उठेको थियो । त्यसैको विकल्पका रूपमा सरकारले सेल ब्रोडकास्ट प्रणाली परीक्षण गर्न लागेको हो ।
अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू)का अनुसार सेल ब्रोडकास्ट प्रणालीमार्फत निश्चित भौगोलिक क्षेत्रमा रहेका मोबाइल फोनमा एकैपटक सतर्कता सन्देश पठाउन सकिन्छ ।
भूकम्प, बाढी, पहिरो तथा प्रतिकूल मौसमका बेला प्रयोग गर्न सकिने यस प्रणालीमा मोबाइलको स्क्रिनमा चेतावनी सन्देश देखिनुका साथै आवाज र भाइब्रेसनमार्फत पनि प्रयोगकर्तालाई सचेत गराइन्छ ।












