लन्डन । बेलायतको सत्तारूढ लेबर पार्टीले शुक्रबार विशेष सम्मेलनमार्फत अनुभवी राजनीतिज्ञ एन्डी बर्नह्यामलाई पार्टीको नयाँ नेता तथा देशको आगामी प्रधानमन्त्रीका रूपमा औपचारिक रूपमा पुष्टि गर्दैछ ।

संसद्मा लेबर पार्टीको स्पष्ट बहुमत रहेकाले उनले सोमबार १० डाउनिङ स्ट्रिटमा किर स्टारमरको स्थान ग्रहण गर्ने तयारी गरेका छन् । सांसदका रूपमा नौ वर्षपछि पुनरागमन गरेको चार सातामै उनी प्रधानमन्त्री बन्न लागेका हुन् ।

५६ वर्षीय बर्नह्याम पछिल्लो एक दशकमा बेलायतको सातौँ प्रधानमन्त्री बन्नेछन् । बेलायती राजनीतिमा आफ्नै दलका नेतामाथि सांसदहरूले दबाब सिर्जना गर्ने परम्पराकै निरन्तरतामा स्टारमरको बहिर्गमनपछि उनी नेतृत्वमा पुगेका हुन् ।

ADVERTISEMENT

ग्रेटर म्यानचेस्टरका लगातार तीन कार्यकालका मेयर बर्नह्यामलाई उत्तरका राजा भन्ने उपनामले पनि चिनिन्छ । लेबर नेतृत्वका लागि उनीविरुद्ध कसैले चुनौती नदिएपछि निर्विरोध रूपमा नेता चयन भएका हुन् । यसअघि सन् २०१० र २०१५ मा क्रमशः एड मिलिब्यान्ड र जेरेमी कोर्बिनसँग पराजित भएपछि उनी तेस्रो प्रयासमा पार्टी नेतृत्वमा पुग्न सफल भएका हुन् ।

ADVERTISEMENT

सन् २००१ देखि २०१७ सम्म सांसद तथा पूर्वसरकारी मन्त्री रहेका बर्नह्यामले पछिल्ला वर्षहरूमा आफूलाई जनमुखी नेताका रूपमा स्थापित गरेका छन् । सामाजिक सञ्जालको प्रभावकारी प्रयोग, सहज प्रस्तुति र सर्वसाधारणसँग प्रत्यक्ष संवाद गर्ने शैलीका कारण उहाँले व्यापक लोकप्रियता हासिल गरेका मानिन्छ ।

लेबर सांसदहरूले बर्नह्यामले स्टारमरभन्दा प्रभावकारी रूपमा जनतासँग संवाद गर्न सक्ने, जर्जर सार्वजनिक सेवामा सुधार ल्याउन सक्ने तथा सुस्त अर्थतन्त्रलाई पुनर्जीवित गर्न थप साहसी नीति अघि बढाउने अपेक्षा गरेका छन् ।

बुधबार पूर्वफुटबलर ग्यारी लिनेकरसँगको पोडकास्टमा उनले देशलाई आशा र आत्मविश्वासको नयाँ अनुभूति दिलाउनुपर्ने आवश्यकता औँल्याउँदै बेलायत सही दिशातर्फ फर्किरहेको अनुभूति जनतामा दिलाउनुपर्ने बताएका थिए ।

सन् २०२९ मा अपेक्षित आमनिर्वाचनअघि आप्रवासनविरोधी नाइजेल फराज नेतृत्वको रिफर्म युके पार्टीको बढ्दो प्रभाव रोक्न पनि बर्नह्याम नै लेबरका लागि सबैभन्दा बलियो विकल्प भएको पार्टीभित्र विश्वास गरिएको छ ।

स्टारमरले जुलाई २०२४ मा १४ वर्षपछि लेबरलाई सत्तामा फर्काउन सफल भए पनि त्यसपछि घरेलु नीतिगत विवाद, वासिङ्टनका लागि पिटर म्यान्डल्सनलाई राजदूत नियुक्त गरेको निर्णय तथा स्थानीय निर्वाचनमा कमजोर प्रदर्शनले उनको नेतृत्व निरन्तर दबाबमा परेको थियो ।

मे महिनाको स्थानीय तथा क्षेत्रीय निर्वाचनको निराशाजनक परिणाम र त्यसपछि जुन १८ मा बर्नह्यामले संसदीय उपनिर्वाचन जितेपछि नेतृत्व परिवर्तनको माग तीव्र बनेको थियो । अधिकांश लेबर सांसदहरूले समर्थन फिर्ता लिएपछि स्टारमरले २२ जुनमा राजीनामा घोषणा गरेक थिए ।