काठमाडौं, सरकारले आर्थिक वर्ष २०८२/८३ मा बजेट खर्च र राजस्व संकलन दुवैमा निर्धारित लक्ष्य हासिल गर्न सकेन। महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार गत आवमा कुल बजेटको ८०.५५ प्रतिशत मात्र खर्च हुँदा राजस्व संकलन पनि लक्ष्यको ८३.५१ प्रतिशतमा सीमित भएको छ।

सरकारले गत आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट ल्याएको थियो। असार मसान्तसम्ममा १५ खर्ब ८२ अर्ब १६ करोड ८२ लाख रुपैयाँ खर्च भएको छ।चालु खर्चतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँ विनियोजन गरिएकामा ८८.४० प्रतिशत अर्थात् १० खर्ब ४३ अर्ब ९९ करोड ६२ लाख रुपैयाँ खर्च भएको छ।

ADVERTISEMENT

पुँजीगत खर्च भने अपेक्षाअनुसार हुन सकेन। ४ खर्ब ७ अर्ब ८८ करोड ८० लाख रुपैयाँ विनियोजन गरिएकामा १ खर्ब ९० अर्ब ८४ करोड १४ लाख रुपैयाँ मात्र खर्च भएको छ, जुन लक्ष्यको ४६.७९ प्रतिशत हो।वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७५ अर्ब २४ करोड २० लाख रुपैयाँ विनियोजन गरिएकामा ३ खर्ब ४७ अर्ब ३३ करोड ६ लाख रुपैयाँ खर्च भएको छ। यो लक्ष्यको ९२.५६ प्रतिशत हो।

राजस्व संकलनतर्फ सरकारले १५ खर्ब ३३ अर्ब ४४ करोड ६९ लाख रुपैयाँ उठाउने लक्ष्य राखेको थियो। तर वर्षभरिमा १२ खर्ब ८० अर्ब ६५ करोड ३६ लाख रुपैयाँ मात्र संकलन हुन सकेको छ, जुन लक्ष्यको ८३.५१ प्रतिशत हो।

ADVERTISEMENT

यस्तै, ५३ अर्ब ४४ करोड ६९ लाख रुपैयाँ वैदेशिक अनुदान भित्र्याउने लक्ष्य रहे पनि ३१ अर्ब २६ करोड ४१ लाख रुपैयाँ मात्र प्राप्त भएको छ। यो लक्ष्यको ५८.५० प्रतिशत बराबर हो।