काठमाण्डौ — नेपाली फुटबलका उदयीमान युवा खेलाडी सिजन वि.क. आफ्नो खेल कौशललाई अन्तर्राष्ट्रिय स्तरमा अझ सशक्त बनाउने उद्देश्यका साथ फुटबलको विश्व विजेता राष्ट्र स्पेन प्रस्थान गरेका छन्।
उनले स्पेन स्थित Alicante Football Academy मा आफ्नै खर्चमा दुई महिनासम्म विशेष प्रशिक्षण लिनेछन्। ललितपुरको हात्तीबन निवासी सिजनले आफ्नो फुटबल यात्राको सुरुवात सेन्ट जेभियर्स स्कुलबाट गरेका हुन्।
त्यसपछि उनले एन्फा एकेडेमीमा प्रशिक्षण लिएर आफ्नो खेल यात्रालाई निरन्तर अघि बढाए। माध्यमिक शिक्षा (एसईई) पूरा गरेपछि उनले उच्च शिक्षा सँगै व्यावसायिक फुटबल प्रशिक्षणका लागि भारतको गुरुग्राम स्थित BBFS (Bhaichung Bhutia Football Schools) मा अध्ययन तथा प्रशिक्षण पूरा गरी कक्षा १२ उत्तीर्ण गरेका हुन्।
सिजनले इटालीको प्रतिष्ठित AC Milan Academy को जुनियर क्याम्पमा सहभागिता जनाइसकेका छन्। साथै बेलायतको Southampton FC मा समेत प्रशिक्षण लिँदै आफ्नो खेल क्षमता अन्तर्राष्ट्रिय स्तरमा प्रदर्शन गर्ने अवसर प्राप्त गरेका थिए। हाल संकटा क्लबबाट आबद्ध सिजनले नेपालमा विभिन्न विद्यालयस्तरीय प्रतियोगिताहरुमा उत्कृष्ट प्रदर्शन गरेका छन्।
भारतमा पनि उनले CBSE Cluster, CBSE National, Delhi B Division तथा U-19 Youth League Tier-1 जस्ता प्रतिष्ठित प्रतियोगिताहरुमा सहभागिता जनाउँदै आफ्नो प्रतिभा प्रमाणित गरिसकेका छन्।
स्पेनमा हुने यस प्रशिक्षणबाट सिजनले अन्तर्राष्ट्रिय स्तरको अनुभव हासिल गर्दै नेपालले एक सक्षम, परिपक्व र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने उत्कृष्ट फुटबल खेलाडी पाउने विश्वास गर्न सकिन्छ र उनको यो प्रयासले नेपाली फुटबलको भविष्यलाई थप सुदृढ बनाउन योगदान पुग्ने विश्वास गरिएको छ।





