काठमाडौं — ‘जीवनको दिगो सुरुआतका लागि स्तनपानः प्रभावकारी अभ्यासलाई थप सुदृढ बनाऔँ’ भन्ने नारासहित आजदेखि विश्वभर विश्व स्तनपान सप्ताह सुरु भएको छ।
हरेक वर्ष अगस्टको पहिलो सातामा मनाइने यो सप्ताह विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ), युनिसेफ तथा विभिन्न देशका सरकार र नागरिक समाजको सहकार्यमा मनाइन्छ।
डब्ल्युएचओका अनुसार स्तनपान शिशुको स्वास्थ्य संरक्षण गर्ने सबैभन्दा सरल, सुरक्षित र प्रभावकारी उपायमध्ये एक हो। यसले शिशुलाई आवश्यक पोषण उपलब्ध गराउनुका साथै रोग प्रतिरोधात्मक क्षमता बढाउने, गम्भीर रोगबाट जोगाउने र मस्तिष्क विकासमा महत्वपूर्ण योगदान पुर्याउँछ।
स्तनपानले आमाको स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्ने उल्लेख गर्दै डब्ल्युएचओले नियमित स्तनपानले स्तन तथा डिम्बाशयको क्यान्सर र टाइप–२ मधुमेहजस्ता नसर्ने रोगको जोखिम कम गर्न सहयोग गर्ने जनाएको छ।
विश्वव्यापी रूपमा जन्मदेखि छ महिनासम्म पूर्ण स्तनपान गराइने दर सन् २०१२ को ३७ प्रतिशतबाट बढेर हाल ४७ प्रतिशतभन्दा माथि पुगेको छ। त्यस्तै, दुई वर्षसम्म स्तनपान गराइने बालबालिकाको अनुपात पनि पछिल्ला पाँच वर्षमा ३८ प्रतिशतबाट ५० प्रतिशत पुगेको छ।
यद्यपि, धेरै देशमा स्तनपानसम्बन्धी सेवा, परामर्श, सशुल्क प्रसूति बिदा, स्तनपानमैत्री कार्यस्थल तथा आमाको दूधको विकल्पका रूपमा प्रयोग हुने उत्पादनको प्रभावकारी नियमन अझै चुनौतीकै रूपमा रहेको डब्ल्युएचओ र युनिसेफले जनाएका छन्।
डब्ल्युएचओका अनुसार स्तनपान प्रवर्द्धनमा गरिएको प्रत्येक एक अमेरिकी डलर बराबरको लगानीबाट करिब ५९ अमेरिकी डलर बराबरको आर्थिक प्रतिफल प्राप्त हुन सक्छ। साथै, प्रभावकारी स्तनपान कार्यक्रम विस्तार गर्न सके हरेक वर्ष करिब चार लाख बालबालिका र एक लाख ४० हजार आमाको ज्यान जोगाउन सकिने अनुमान गरिएको छ।
यस अवसरमा डब्ल्युएचओ र युनिसेफले गुणस्तरीय स्तनपान सेवा विस्तार, समुदायमा आधारित परामर्श, सशुल्क प्रसूति बिदा, स्तनपानमैत्री कार्यस्थल र स्तनपान प्रवर्द्धनलाई मातृ तथा नवजात स्वास्थ्य सेवासँग एकीकृत गर्न सबै देशलाई आग्रह गरेका छन्।











