काठमाडौं । सरकारले सबै सार्वजनिक निकायमा कार्यरत निजामती कर्मचारीलाई कार्यालय समयमा नेपाल सरकारले तोकेको पोसाक र सम्बन्धित कार्यालयबाट जारी गरिएको परिचयपत्र (आईडी कार्ड) अनिवार्य रूपमा प्रयोग गर्न निर्देशन दिएको छ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको सङ्घीय मामिला तथा सामान्य प्रशासनसम्बन्धी निकायले बिहीबार सबै मन्त्रालय, आयोग, सचिवालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालय र स्थानीय तहलाई परिपत्र जारी गर्दै उक्त व्यवस्था कार्यान्वयन गर्न आग्रह गरेको हो।
मन्त्रालयका अनुसार राष्ट्रिय सतर्कता केन्द्रको असार २६ गतेको पत्रका आधारमा असार ३२ गते निर्णय गर्दै कार्यालय समयमा सरकारले तोकेको किसिम र रङको पोसाक तथा सम्बन्धित कार्यालयबाट जारी गरिएको परिचयपत्र अनिवार्य रूपमा प्रयोग गर्ने व्यवस्था गरिएको हो।
परिपत्रमार्फत सबै सार्वजनिक निकायलाई कर्मचारीले तोकिएको पोसाक र परिचयपत्रको अनिवार्य पालना सुनिश्चित गर्न निर्देशन दिइएको छ।





