काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वीकृतिबिना लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका २३ जना स्वास्थ्यकर्मीलाई स्पष्टीकरण सोधेको छ।
मन्त्रालयले बिहीबार सूचना जारी गर्दै बिदा स्वीकृत नगराई लगातार ६० दिनसम्म कार्यालयमा अनुपस्थित रहेका डाक्टर, नर्स, ल्याब टेक्निसियन तथा अन्य स्वास्थ्यकर्मीको नामावली सार्वजनिक गरेको हो। सम्बन्धित कर्मचारीलाई सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र लिखित सफाइ पेश गर्न निर्देशन दिइएको छ।
मन्त्रालयका अनुसार ती कर्मचारीहरूले स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ७४ को उपदफा (१) को खण्ड (ज) विपरीत बिदा स्वीकृत नगरी लगातार ६० दिनसम्म कार्यालयमा अनुपस्थित रहेको पाइएको छ।
यही आधारमा ऐनको दफा ७२ को खण्ड (ख) को उपखण्ड (१) बमोजिम भविष्यमा स्वास्थ्य सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने विभागीय कारबाही किन नगर्ने भन्ने विषयमा स्पष्टीकरण माग गरिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले जारी गरेको सूचनामा, ‘विभागीय सजाय नगर्नुपर्ने कुनै कारण भए सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आफ्नो सफाइ पेश गर्न सम्बन्धित कर्मचारीलाई जानकारी गराइन्छ,’ भनिएको छ।
स्पष्टीकरण सोधिएका कर्मचारीहरू वीर अस्पताल, कान्ति बाल अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र भक्तपुर, नरदेवी आयुर्वेद चिकित्सालयलगायत विभिन्न सरकारी अस्पताल तथा स्वास्थ्य संस्थामा कार्यरत डाक्टर, नर्स, ल्याब टेक्नोलोजिस्टलगायतका स्वास्थ्यकर्मी रहेका छन्।
हेर्नुहोस् सूचना






