काठमाडौं ।  फ्रेन्चाइजमा आधारित इन्डोर क्रिकेट प्रतियोगिता इन्डोर सुपर लिग (आईएसएल) को दोस्रो संस्करण आगामी भदौ १७ गतेदेखि आयोजना हुँदैछ ।

आयोजक काठमाडौं स्पोट्र्स इभेन्ट्स प्रालि. ले दोस्रो संस्करणलाई पहिलो संस्करणभन्दा अझ भव्य, व्यवस्थित र अन्तर्राष्ट्रिय स्तरको बनाउन आवश्यक तयारी अन्तिम चरणमा पुगेको जनाएको छ।

ADVERTISEMENT

यस संस्करणमा १० वटा फ्रेन्चाइज टोली सहभागी हुनेछन्। प्रतियोगितालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने उद्देश्यले अमेरिकाकी अन्तर्राष्ट्रिय होस्ट, गायिका तथा गीतकार शाइस फ्लोयड नेपाल आउने आयोजकले जानकारी दिएको छ।

सन् २०२४ मा अमेरिकाको डालासमा आयोजित आईसीसी टी–२० विश्वकपका क्रममा नेपाली समर्थकमाझ सक्रिय रहेकी फ्लोयडले यसपटक इन्डोर सुपर लिगको दोस्रो संस्करण सञ्चालन गर्नेछिन्।

ADVERTISEMENT

आयोजकका अनुसार फ्लोयडको सहभागिताले नेपाली इन्डोर क्रिकेटलाई अन्तर्राष्ट्रिय दर्शकमाझ चिनाउन तथा प्रतियोगिताको ब्रान्ड मूल्य अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।

काठमाडौं स्पोट्र्स इभेन्ट्स प्रालिका प्रबन्ध निर्देशक ज्योति भण्डारीले भने, “इन्डोर सुपर लिगलाई नेपालभित्र मात्र सीमित नराखी अन्तर्राष्ट्रिय पहिचान दिलाउने हाम्रो लक्ष्य हो। शाइस फ्लोयडको सहभागिता त्यस यात्राको महत्वपूर्ण सुरुआत हो।“