काठमाडौं । उच्च अदालत पाटनले रातो पासपोर्ट दुरुपयोगका क्रममा सरकारी कागजात किर्ते गरेको आरोपमा संविधानसभाका तीन सदस्यलाई कसुरदार ठहर गर्ने जिल्ला अदालतको फैसला सदर गरेको छ ।

न्यायाधीशहरु खड्कबहादुर केसी र गोपालप्रसाद बास्तोलाको इजलासले सभासद्हरु गायत्री साह, विश्वनाथप्रसाद यादव, नारदमुनी राना लगायतलाई कसुदार ठहर गर्ने जिल्ला अदालतको फैसला सदर गरेको हो ।

ADVERTISEMENT

जिल्ला अदालत काठमाडौंले २१ जेठ, २०७१ मा उनीहरुलाई कसुरदार ठहर गरेको थियो । उनीहरुमाथि पाँच महिना कैद र पाँच सय रुपैंयाका दरले जरिवानाको फैसला भएको थियो ।

रातो पासपोर्ट प्रकरणमा बिचौलियाको भूमिका खेलेको आरोपमा थप पाँच जना दोषी ठहर भएका छन् । उच्च अदालत पाटनले डिलबहादुर घर्ती, गोपाल बानियाँ, पृथ्वी छन्त्याल, मनोजकुमार कार्की, देवेन्द्र पौडेल र सन्तोषराज उप्रेतीलाई सरकारी कागजात किर्ते गरेको आरोपमा एक वर्ष कैद र पाँच लाख ५४ हजार रुपैंया जरिवानाको फैसला सदर गरेको हो ।

ADVERTISEMENT

उनीहरुमाथि शुरुमा भ्रष्टाचारमुद्दा चलिसकेको थियो । विशेष अदालतले सभासद्हरु शिवपुजन राय, विश्वनाथप्रसाद यादव र गायत्री साहलाई दोषी ठहर गरेको थियो । उनीहरुलाई तीन महिनाका दरले कैद र १५ हजार रुपैंयाका दरले जरिवाना भएको थियो ।

त्यो मुद्दा अहिले सर्वोच्च अदालतमा विचाराधिन छ । पूर्वसांसदहरुका कानुन व्यवसायीहरुले किर्तेको मुद्दा उच्च अदालतमा विचाराधिन भएकाले सुनुवाई अघि नबढाउन माग गरेपछि सर्वोच्च अदालतले मुद्दालाई मुल्तवीमा राखेको थियो ।