काठमाडौं। नेपालको अग्रणी जीवन बीमा कम्पनी मेटलाइफ नेपाल र त्रिभुवन विश्वविद्यालयको स्कुल अफ म्याथेम्याटिकल साइन्सबीच नेपालको भावी एक्चुरी (Actuary) जनशक्ति उत्पादन गर्ने उद्देश्यले योग्यता-आधारित छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्न साझेदारी भएको छ।
यस कार्यक्रमअन्तर्गत प्रत्येक वर्ष दुई जना उत्कृष्ट स्नातक तहका विद्यार्थीलाई चार वर्षे अध्ययन अवधिभरका सबै सेमेस्टर शुल्क मेटलाइफ नेपालले व्यहोर्नेछ। छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरूको छनोट पारदर्शी र योग्यता-आधारित मूल्यांकन प्रक्रियामार्फत गरिने कम्पनीले जनाएको छ।
नेपालको बीमा तथा वित्तीय सेवा क्षेत्रमा एक्चुरियल विज्ञानको भूमिका महत्वपूर्ण भए पनि दक्ष एक्चुरी जनशक्तिको अभाव रहेको छ। जोखिम मूल्यांकन, बीमा योजना निर्माण तथा दीर्घकालीन वित्तीय स्थायित्व सुनिश्चित गर्न आवश्यक जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ यो कार्यक्रम सुरु गरिएको हो।
कार्यक्रमले आर्थिक सहयोगमा मात्र सीमित नरही विद्यार्थीहरूलाई इन्टर्नशिप, व्यावहारिक सिकाइ र बीमा उद्योगको प्रत्यक्ष अनुभव समेत उपलब्ध गराउनेछ। यसबाट विद्यार्थीहरूले एक्चुरियल विज्ञान, जोखिम व्यवस्थापन र बीमा क्षेत्रमा व्यावसायिक करियर निर्माण गर्न आवश्यक सीप र अनुभव हासिल गर्ने अपेक्षा गरिएको छ।
सरकारी विद्यालयसहित विभिन्न शैक्षिक पृष्ठभूमिका योग्य र प्रतिभाशाली विद्यार्थीहरूले पनि यस कार्यक्रममा समान अवसर प्राप्त गर्नेछन्। मेटलाइफ नेपालका अनुसार शैक्षिक संस्था र उद्योगबीचको सहकार्यले विद्यार्थीलाई अध्ययनसँगै व्यावहारिक अनुभव दिलाउँदै उद्योगको आवश्यकता अनुरूप दक्ष जनशक्ति उत्पादनमा सहयोग पुग्नेछ।
मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठले अवसरमा पहुँचले भविष्य निर्माण गर्ने विश्वास कम्पनीको मूल मान्यता रहेको उल्लेख गर्दै यस साझेदारीले प्रतिभाशाली विद्यार्थीलाई सहयोग गर्नुका साथै नेपालको वित्तीय क्षेत्रका लागि आवश्यक एक्चुरियल विशेषज्ञ उत्पादनमा महत्वपूर्ण योगदान पुग्ने बताए।
त्यसैगरी, त्रिभुवन विश्वविद्यालयको स्कुल अफ म्याथेम्याटिकल साइन्सका निर्देशक नवराज पौडेलले उद्योग र शैक्षिक संस्थाबीचको सहकार्यले गुणस्तरीय शिक्षा तथा बजारको आवश्यकता अनुरूप दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यलाई थप सुदृढ बनाउने बताए। उनका अनुसार यो छात्रवृत्ति कार्यक्रमले योग्य विद्यार्थीहरूलाई एक्चुरियल क्षेत्रमा आत्मविश्वासका साथ करियर बनाउन प्रेरणा र अवसर दुवै प्रदान गर्नेछ।
मेटलाइफ नेपालले यो पहलले नेपालमा एक्चुरियल पेशाकर्मीको अभाव सम्बोधन गर्नुका साथै बीमा र वित्तीय सेवा क्षेत्रलाई थप सुदृढ बनाउन, शैक्षिक अवसर विस्तार गर्न र नेपालको वित्तीय प्रणालीको दीर्घकालीन विकासमा योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ।





