काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक बढेर बन्द भएको छ। पछिल्ला चार कारोबार दिनदेखि घटिरहेको नेप्सेमा सामान्य सुधार देखिएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६.११ अंक बढेर २५७६.२९ विन्दुमा पुगेको छ। १३ मध्ये १२ उपसमूहको परिसूचक बढेको छ । व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.४७ प्रतिशत बढेको छ। कारोबारमा आएको उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ०.१८ प्रतिशत घटेको हो।
नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ। सोमबार सात अर्ब ४६ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो । मंगलबार ३८३ स्टकको ५३ हजार ८५४ पटकको कारोबारमा आठ अर्ब ४१ करोड ७५ लाख ७० हजार रुपैयाँबराबरको एक करोड ८२ लाख ९३ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
आज पनि ऋणपत्रहरुको कारोबारले कारोबार रकम बढाएको हो। यस दिन ५२ करोड ७१ लाख रुपैयाँबराबरको १० प्रतिशत केबिएल डिबेञ्चर २०९० कारोबार भएको छ । ३९ करोडभन्दा बढीको १० प्रतिशत एनआईएमबि डिबेञ्चर २०९०, साढे ३७ करोड रुपैयाँभन्दा बढीको ७ प्रतिशत नेपाल एसबिआई बैंक डिबेञ्चर खरिदबिक्री भएको छ । एभरेष्ट बैंक लिमिटेड डिबेञ्चरको कारोबार रकम ३६ करोड रुपैयाँ नाघेको छ।
९ प्रतिशत कामना सेवा विकास बैंक डिबेञ्चर २०८७ को मूल्य १०.२२ प्रतिशत बढेको छ। सांग्रिला डेभलपमेन्ट बैंक डिबेञ्चर २०८७ को मूल्य करिब १० प्रतिशत बढेको छ । उपकार लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ।





