काठमाडौं । यातायात व्यवस्था विभागले सामाजिक सञ्जालमा भाइरल भइरहेको ट्राफिक जरिवानासम्बन्धी पर्चा पूर्ण रूपमा नक्कली र भ्रामक रहेको भन्दै त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

विभागले जारी गरेको सूचनामा मोटर यातायात तथा ट्राफिक नियमावली, २०७४ बमोजिमको जरिवाना दररेट उल्लेख गरिएको पर्चा कानुनी आधारविहीन रहेको स्पष्ट पारिएको छ। हाल नेपालमा उक्त नामको कुनै कानुनी व्यवस्था नरहेको तथा पर्चामा प्रयोग गरिएको विभागको नाम र लोगोसमेत नक्कली रहेको विभागले जनाएको छ।

ADVERTISEMENT

विभागले तथ्य र प्रमाण पुष्टि नगरी यस्ता भ्रामक सामग्री लाइक, सेयर वा प्रचार–प्रसार नगर्न आम नागरिक तथा सरोकारवालालाई आग्रह गरेको छ। यस्ता सामग्रीले सर्वसाधारणमा भ्रम फैलाउनुका साथै सार्वजनिक संस्थाप्रतिको विश्वाससमेत कमजोर बनाउने विभागको भनाइ छ।

विभागका अनुसार विद्युतीय कारोबार ऐन, २०६३ र प्रतिलिपि अधिकार ऐन, २०५९ लगायत प्रचलित कानुनविपरीतका यस्ता गतिविधि दण्डनीय छन्। आगामी दिनमा यस्ता कार्यमा संलग्न हुनेमाथि कानुनबमोजिम कारबाही गरिने चेतावनी पनि दिइएको छ।

ADVERTISEMENT

विभागले नयाँ सवारी तथा यातायात व्यवस्था सम्बन्धी ऐन जारी नभएसम्म ट्राफिक जरिवाना सवारी तथा यातायात व्यवस्था ऐन, २०४९सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ बमोजिम नै लागू रहने स्पष्ट गर्दै आधिकारिक जानकारीलाई मात्र विश्वास गर्न आग्रह गरेको छ।