ललितपुर । नेपालकै अग्रणी भुक्तानी प्रणाली सञ्चालक (पिएसओ)फोनपेले विश्वप्रसिद्ध भुक्तानी सुरक्षासम्बन्धी मापदण्ड पेमेन्ट कार्ड इन्ड्रीज डाटा सेकुरिटी स्टयान्डर(पिसिआईडिएसएस)को प्रमाणपत्र प्राप्त गरेको घोषणा गरेको छ ।
यो गौरवपूर्ण प्रमाणपत्रले फोनपेले आफ्नो नेटवर्कमार्फत हुने सम्पूर्ण कारोबारहरूमा उच्चतम स्तरको सुरक्षा सुनिश्चित गर्न गरेको दृढ प्रतिबद्धतालाई प्रतिविम्बित गर्दछ। यसले प्रयोगकर्ता, साझेदार बैंक तथा वित्तीय संस्थाहरू, र नियामक निकायहरूको विश्वासलाई थप मजबुत बनाएको छ।
भुक्तानी कार्ड डाटा सुरक्षाको सर्वोच्च स्तरको अन्तर्राष्ट्रिय मान्यता हो, जसको पालना गर्नका लागि गम्भीर प्राविधिक संरचना, नीतिहरू र निगरानी प्रणाली आवश्यक हुन्छ। फोनपेले यो प्रमाणपत्र प्राप्त गर्नुले कार्डधारकको डाटा सुरक्षित राख्न र सुरक्षा पूर्वाधार बलियो बनाउन गरेको लगानी र प्रतिबद्धतालाई दर्शाउँछ।
फोनपे नेपाल राष्ट्र बैंकबाट अनुमोदित तथा इजाजतप्राप्त पेमेन्ट सिस्टम अपरेटर हो। यो भुक्तानी सञ्जालले हाल अन्तर बैंक पिअर टु पिअर भुक्तानी, व्यक्ति देखि व्यापारी को लागि क्यूआर प्राप्त गर्ने योजना, तथा आफ्नो सहभागी बैंक तथा वित्तीय संस्था र पेमेन्ट सिस्टम प्रोभाइडरहरूलाई लक्षित घरेलु कार्ड योजना प्रदान गरिरहेको छ।

पेमेन्ट कार्ड इन्डस्ट्री डाटा सेक्युरिटी स्ट्यान्डर्ड कार्ड आधारित भुक्तानीको ह्यान्डलिङ, प्रोसेसिङ र सञ्चालनका लागि एक विश्वव्यापी सुरक्षात्मक मापदण्ड हो। सन् २००६ मा प्रमुख भुक्तानी कम्पनीहरूरसंस्थाहरूको सहकार्यमा सुरू गरिएको हो।