काठमाडौँ – पछिल्लो समय देशमा बढिरहेका आत्मदाहका घटनाले समाज र राज्य दुवैलाई गम्भीर प्रश्नको घेरामा उभ्याएको छ।
राज्यका निकायप्रतिको असन्तुष्टि, सेवा प्रवाहमा देखिएको कमजोरी तथा व्यक्तिगत र पारिवारिक समस्याले नागरिकलाई चरम निराशातर्फ धकेलिरहेको भन्दै यस्ता घटनाले गहिरो चिन्ता बढाएको छ।
मुगुका गणेश नेपालीले काठमाडौं महानगरपालिकाको नगर प्रहरीले आफ्नो मोटरसाइकलमा ‘ह्वील लक’ लगाएपछि आत्मदाहको प्रयास गरेका थिए। उपचारका क्रममा उनको निधन भएपछि देशभर राज्य संयन्त्रको कार्यशैली, नियम कार्यान्वयनको तरिका र नागरिकप्रतिको व्यवहारबारे तीव्र बहस सुरु भएको छ। घटनाअघि सार्वजनिक भएको भिडियोमा उनी र नगर प्रहरीबीच भनाभन भएको देखिन्छ।
यस घटनापछि विभिन्न स्थानमा विरोध प्रदर्शन भएका छन्। नियम कार्यान्वयनका क्रममा राज्यका निकायले संवेदनशीलता, संयमता र मानवीय व्यवहार अपनाउनुपर्ने माग चर्किएको छ।
त्यसैगरी, काठमाडौंको बुद्धनगरमा शनिबार बिहान आत्मदाहको प्रयास गरेका ४५ वर्षीय आश्विन राउतको उपचारका क्रममा निधन भएको छ।
यता, सर्लाहीको गोडैता नगरपालिकाका २५ वर्षीय विवेक मण्डलले पनि आफ्नै शरीरमा आगो लगाएका छन्।
गम्भीर घाइते भएका उनलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याई कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
पछिल्ला केही दिनमै थप आत्मदाहका प्रयासका घटना सार्वजनिक भएपछि नागरिकको मानसिक अवस्था, सामाजिक सुरक्षा र राज्यको जवाफदेहिताबारे थप प्रश्न उठ्न थालेका छन्।
विश्लेषकहरूका अनुसार यस्ता घटनालाई केवल व्यक्तिगत निर्णयका रूपमा हेर्नुभन्दा नागरिकको गुनासो सुन्ने संयन्त्र, सार्वजनिक सेवाको प्रभावकारिता, मानसिक स्वास्थ्य सहयोग तथा राज्य–नागरिक सम्बन्धलाई सुदृढ बनाउन आवश्यक सुधारमा ध्यान दिनुपर्ने अवस्था आएको छ।
बढ्दो निराशा र असन्तुष्टिलाई सम्बोधन गर्न राज्यले प्रभावकारी, संवेदनशील र उत्तरदायी भूमिका निर्वाह गर्नुपर्ने आवाज बलियो बन्दै गएको छ।





