बझाङ । बझाङको केदारस्युँ र दुर्गाथली गाउँपालिकाको सिमानामा जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा चालक सहित १२ जना गम्भीर घाइते भएका छन् ।

केदारस्युा गाउँपालिका–७ काँडाचौरबाट दुर्गाथली गाउँपालिका–६ चुवापनतर्फ गइरहेको सेच००१२६४४ नम्बरको जिप दुर्गाथली गाउँपालिका–६ र केदारस्युँ गाउँपालिका–७ को सिमानामा पर्ने सुँगरे भन्ने स्थानमा दुर्घटना भएको हो । जिप सडकबाट करिब ३०० मिटर तल खसेको स्थानियले बताए ।

ADVERTISEMENT

दुर्गाथली गाउँपालिका–६ का वडाध्यक्ष जयबहादुर महतका अनुसार दुर्घटनामा परी दुर्गाथली–६ का ६० वर्षीय चक्र महत, सोही ठाउँकी ६५ वर्षीया केलादेवी महत र केदारस्युँ–७ की ३५ वर्षीया विमला धामीको घटनास्थलमै मृत्यु भएको हो ।

ADVERTISEMENT

दुर्घटनामा परेर जिप चालक केदारस्युँ–७ का देवबहादुर धामी, दुर्गाथली–६ का झल्का महत, जैमती महत, धनशेर जाग्री, नवराज धामी, रमेश धामी, हासुली महत, रामबहादुर महत, हर्का महत, देवबहादुर जाग्री, विरु जाग्री र रामबहादुर महत गम्भीर घाइते भएका छन् ।

घाइतेहरूको अवस्था चिन्ताजनक रहेकाले उपचारका लागि हेलिकप्टर मगाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक (डीएसपी) टेक जोराले बताए ।

ADVERTISEMENT

उनले भने,‘प्रहरी टोली घटनास्थलमा पुग्न बाँकी छ । स्थानीयले उद्धार कार्य गरिरहेको खबर आएको छ । घाइतेलाई थप उपचारका लागि बाहिर पठाउन हेलिकप्टरको पहल भइरहेको छ ।’

यसैबीच, बझाङबाट निर्वाचित प्रतिनिधि सभा सदस्य एवं नेकपा एमालेका प्रमुख सचेतक ऐन महर र काँग्रेसका युवा नेता अभिषेक बहादुर सिंहले घाइतेहरूको उद्धारका लागि हेलिकप्टरको समन्वय भइरहेकाले संयमित रहन आग्रह गरेका छन् ।

दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।