काठमाडौं । बलिउडका चर्चित हास्य अभिनेता राजपाल यादव चेक बाउन्स मुद्दामा फेरि जेल जानुपर्ने भएको छ।

भारतको दिल्ली उच्च अदालतले तल्लो अदालतको फैसला सदर गर्दै उनलाई सुनाइएको तीन महिनाको साधारण कैदको सजाय कायम राखेको हो।

ADVERTISEMENT

उच्च अदालतले राजपाल यादव र अन्य अभियुक्तहरूले दायर गरेको पुनरावेदन खारेज गर्दै उनीहरूले अदालतसमक्ष पटक–पटक गरेको प्रतिबद्धता पूरा गर्न नसकेको उल्लेख गरेको छ।

ADVERTISEMENT

अदालतले उनको व्यवहारलाई ‘सन्देहास्पद’ समेत टिप्पणी गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। यो मुद्दा सन् २०१० मा फिल्म निर्माणका लागि लिइएको ऋणको चेक बाउन्ससँग सम्बन्धित हो।

ऋण रकममा ब्याज र अन्य दायित्व थपिँदै जाँदा बक्यौता करोडौँ भारतीय रुपैयाँ पुगेको बताइएको छ। यसअघि पनि अदालतले उनलाई जेल सजाय सुनाएको थियो।

ADVERTISEMENT

केही रकम भुक्तानी गरेपछि उनले अन्तरिम राहत पाए पनि बाँकी दायित्व पूरा गर्न नसकेपछि अदालतले पुनः दोषी ठहरलाई यथावत् राखेको हो। अदालतको आदेशअनुसार अब राजपाल यादवले तीन महिनाको जेल सजाय भोग्नुपर्नेछ।

उनी केही समयअघि पनि यही मुद्दामा तिहाड जेल बसेपछि रिहा भएका थिए। राजपाल यादव हिन्दी फिल्म उद्योगका चर्चित हास्य अभिनेतामध्ये एक हुन्। उनले ‘भूल भुलैया’, ‘फिर हेरा फेरी’, ‘गरम मसाला’ र ‘भागम भाग’ लगायतका लोकप्रिय फिल्ममा अभिनय गरेका छन्।