काठमाडौं — दक्षिण भारतीय अभिनेता तथा तमिलनाडुका मुख्यमन्त्री थलापति विजय अभिनीत बहुप्रतीक्षित फिल्म ‘जन नायकन’ अन्ततः सेन्सर पास भएको छ। लामो समयदेखि रोकिएको सेन्सर प्रक्रिया पूरा गर्दै फिल्मले १२ वटा संशोधनपछि ‘ए’ (१८ वर्षमाथिका दर्शकका लागि) प्रमाणपत्र प्राप्त गरेको हो।
भारतीय सञ्चारमाध्यमका अनुसार केन्द्रीय चलचित्र प्रमाणन बोर्ड (सीबीएफसी) ले फिल्मका केही राजनीतिक रूपमा संवेदनशील संवाद र दृश्य परिमार्जन गर्न निर्देशन दिएको थियो। त्यसअनुसार भारतीय राष्ट्रिय झण्डा देखाइएको एउटा दृश्य हटाइएको छ भने ‘अम्बेडकर सट्टम’ शब्दलाई ‘टीभीके सट्टम’ मा परिवर्तन गरिएको छ।
यस्तै, केही अपशब्दलाई हटाइएको वा मौन बनाइएको छ भने हिंसात्मक दृश्यहरू पनि केही सेकेन्ड छोट्याइएको छ। टीभीकेको झण्डा देखिएका केही दृश्यसमेत हटाइएका छन्। यद्यपि, यी संशोधनका कारण फिल्मको कुल अवधि भने खासै प्रभावित नहुने जनाइएको छ।
सेन्सर प्रक्रिया पूरा भएसँगै निर्माण पक्षले अब छिट्टै फिल्मको औपचारिक प्रदर्शन मिति घोषणा गर्ने अपेक्षा गरिएको छ। यसअघि क्यानडाका वितरक योर्क सिनेमाजले फिल्म जुलाई २४ मा प्रदर्शन हुने जानकारी दिएका थिए।
एच. विनोथको निर्देशनमा बनेको ‘जन नायकन’ विजयको अभिनय यात्राको अन्तिम फिल्मका रूपमा पनि चर्चामा छ। राजनीतिमा सक्रिय भइसकेका विजयका लागि यो फिल्म विशेष महत्वको मानिएको छ।
एक्सन, पारिवारिक नाटक र सामाजिक विषयवस्तुमा आधारित यस फिल्ममा विजयसँगै दक्षिण भारतीय फिल्म उद्योगका अन्य चर्चित कलाकारहरूको पनि अभिनय रहेको छ।










