काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण, रोजगारी सिर्जना, औद्योगिकरण र हरित विकासको महत्वपूर्ण आधार भएको बताएका छन् ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पानका पदाधिकारीहरूसँग शुक्रबार सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्रीले नेपालको निर्यात व्यापारको प्रवर्धनमा पनि उर्जा क्षेत्रको उल्लेख्य भूमिका रहने बताए । उनले नेपालमा उर्जा उत्पादन तथा प्रवर्धनका क्षेत्रमा आइपरेका समस्या, अवसर र चुनौती जस्ता क्षेत्रमा इपानले उठाएका विषयहरूलाई नेपाल सरकारले गम्भीरतापूर्वक लिइएको स्पष्ट गरे ।

प्रधानमन्त्री शाहले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण तथा सम्बन्धित सरोकारवाला निकायहरूसँग समन्वय गरी आवश्यक सहजीकरण र समाधानका लागि अघि बढ्ने आश्वासन दिएका थिए ।

ADVERTISEMENT

ऊर्जा क्षेत्र, जलविद्युत् विकास, उर्जामा निजी क्षेत्रको लगानी र वातावरण, उद्योग–व्यवसाय प्रवर्धन र यसमार्फत मुलुकको अर्थतन्त्रको विकास जस्ता विषयमा छलफल तथा संवाद भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

ADVERTISEMENT

इप्पानका प्रतिनिधिहरूले ऊर्जा क्षेत्रको विकासका लागि ६ वटा मुख्य बुँदाहरूमा केन्द्रित भई आफ्ना सुझावहरू प्रस्तुत गरेका थिए । इप्पानका वरिष्ठ उपाध्यक्ष उत्तम भ्लोनकाअनुसार मुख्य रूपमा नीतिगत सुधार, विद्युत खरिद सम्झौता (पीपीए) तथा नेपाल विद्युत प्राधिकरणसँग सम्बन्धित विषयहरूमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको थियो । प्रस्तावित विद्युत ऐनको शिघ्र कार्यान्वयन, सनसेट लमार्फत जग्गा प्राप्ति र वन क्षेत्रको प्रक्रियामा हुने ढिलाइ अन्त्य गर्नुपर्ने माग इप्पानले राखेको छ ।

ADVERTISEMENT

इप्पानका तर्फबाट विद्युत् खरिद सम्झौता, पिपिएको सहजीकरण, रोकिएका आयोजनाहरू अघि बढाउने विषय, प्रसारण लाइन तथा ग्रिड एक्सेसको समस्या समाधान, वन–वातावरण र जग्गा प्राप्तिसम्बन्धी प्रक्रियामा सरलीकरण, अनुमतिपत्र नवीकरणमा सहजीकरण, विद्युत् व्यापारमा निजी क्षेत्रको सहभागितालगायतका क्षेत्र तथा विषयमा समेत छलफल भएको थियो ।

प्रधानमन्त्री शाहका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार र प्रमुख स्वकीय सचिव सुवास शर्मा, स्वकीय सचिव नविन भण्डारी पनि उपस्थित थिए । इप्पानका वरिष्ठ उपाध्यक्ष उत्तम भ्लोन, उपाध्यक्षहरु हिमप्रसाद पाठक, सुशन कर्माचार्य र उत्तरकुमार श्रेष्ठ, प्रमुख सल्लाहकार गणेश कार्की, महासचिव टिएन आचार्यलगायतको सहभागिताथियो ।