काठमाडौं। नेपाली मोटरसाइकल बजारमा चिनियाँ ब्रान्ड लेट्बी ले औपचारिक प्रवेश गरेको छ। क्रसफायर मोटरसाइकल्सको  नेपाली  आधिकारिक वितरक क्लासिक ह्वीलले लेट्बी ब्रान्डअन्तर्गतका फ्लाइगोन हिल्स र फ्लाइगोन सिटी मोडल नेपाल भित्र्याउँदै बुकिङ खुला गरेको हो।

कम्पनीले हाल सामाजिक सञ्जालमार्फत दुवै मोडलको बुकिङ सुरु गरेको जानकारी दिएको छ। औपचारिक लन्च मिति भने अझै सार्वजनिक गरिएको छैन, तर अर्को साताभित्र मूल्य र विस्तृत स्पेसिफिकेसनसहित सार्वजनिक गर्ने तयारी भइरहेको बताइएको छ।

हाओजिन समूहको लेट्बी कस्तो ब्रान्ड हो?

लेट्बी वास्तवमा चीनको ग्वाङजाउ स्थित ठूलो मोटरसाइकल तथा इन्जिन निर्माता कम्पनी हाओजिन समूह अन्तर्गतको सबब्रान्ड हो, जुन सन् २०२२ मा स्थापना भएको थियो। हाओजिनले हालसम्म ३० भन्दा बढी देशमा ४ लाखभन्दा बढी मोटरसाइकल निर्यात गरिसकेको छ र यसको वार्षिक उत्पादन क्षमता १० लाख युनिट रहेको बताइन्छ। “युवा र बलियो व्यक्तित्व झल्काउने” शैलीमा केन्द्रित रहेर ब्रान्ड निर्माण गरेको लेट्बीले आफ्ना मोटरसाइकललाई सामान्य सवारी साधन नभई “मेकानिकल पेट” का रूपमा प्रस्तुत गर्ने रणनीति अपनाएको छ।

ADVERTISEMENT

 

ADVERTISEMENT

लेट्बीले हाल फ्लाइगोन, मेका, भेलोसिटी, आइल्यान्ड, नियोन लगायत स्कुटर तथा मोटरसाइकल शृंखलाका साथै ६९३ सीसी प्यारालल-ट्विन इन्जिनसहितको फ्ल्यागसिप नेकेड बाइक आर्थर ७०० समेत बजारमा ल्याइसकेको छ, जुन युरोपेली बजारमा यामाहा एमटी-०७ र काभासाकी जेड ६५० जस्ता मोडलसँग प्रतिस्पर्धा गर्न ल्याइएको हो। हालका वर्षहरूमा लेट्बीले स्पेन, जर्मनी, अस्ट्रिया, स्विट्जरल्यान्डलगायत युरोपेली बजार तथा इन्डोनेसियासमेत आफ्नो कारोबार विस्तार गरिरहेको छ, जहाँ फ्लाइगोन र मेका मोडलका  पहिलो सिरिज नै लन्च गरिएका थिए।

ADVERTISEMENT

नेपालमा ल्याइने फ्लाइगोनको स्पेसिफिकेसन

लेट्बी फ्लाइगोन शृंखलाका दुवै मोटरसाइकल २२० सीसी इन्जिन प्लेटफर्ममा आधारित छन्, जसले अधिकतम १७ न्युटन मिटर टर्क उत्पादन गर्ने कम्पनीको दाबी छ। फ्लाइगोन हिल्सलाई हल्का अफ-रोड तथा एड्भेन्चर राइडिङका लागि विकास गरिएको छ भने फ्लाइगोन सिटी दैनिक सहरी यात्रालाई लक्षित गरेर तयार पारिएको मोडल हो।

करिब १४० केजी तौल रहेको फ्लाइगोन २२० लाई नेपालका उकालो-ओरालो र विभिन्न सडक अवस्थालाई ध्यानमा राखेर निर्माण गरिएको कम्पनीको दाबी छ। हल्का तौलका कारण यसले सहज ह्यान्डलिङ र उत्कृष्ट म्यानुभरेबिलिटी प्रदान गर्ने बताइएको छ। अन्तर्राष्ट्रिय बजारमा फ्लाइगोन आफ्नो छुट्टै “ड्र्यागनफ्लाई आइ” एलईडी हेडलाइट डिजाइनका कारण चिनिन्छ, र यसैलाई ब्रान्डको पहिचान बनाइएको छ।

फिचरका हिसाबले फ्लाइगोन २२० मा डुअल-च्यानल एबीएस, अफ-रोडका लागि बन्द गर्न मिल्ने ट्र्याक्सन कन्ट्रोल सिस्टम, युएसडी फ्रन्ट फोर्क, पूर्ण एलईडी लाइटिङ, टीएफटी डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, स्मार्टफोन कनेक्टिभिटी, नेभिगेसन, वायर-स्पोक ह्वील, डुअल-सिट डिजाइन र युरो-५ मापदण्डअनुसारको इन्जिन जस्ता आधुनिक सुविधा उपलब्ध छन्।

विश्वसनीयताको प्रश्न

चिनियाँ मोटरसाइकल ब्रान्डहरूको गुणस्तर विश्वभर एकनासको छैन, र लेट्बी पनि अपेक्षाकृत नयाँ ब्रान्ड भएकाले अन्तर्राष्ट्रिय बजारमा समेत यसको वास्तविक बनावट गुणस्तर, दिगोपना र सर्भिस नेटवर्कको भर्खरै मात्र परीक्षण हुँदै छ। युरोपेली बजारमा प्रवेश गर्दा कम्पनीले फ्याक्ट्री वारेन्टी दिने बताए पनि यसको अवधि र सर्तबारे विस्तृत जानकारी सार्वजनिक गरेको छैन । नेपालमा पनि सर्भिस नेटवर्क र स्पेयर पार्ट्सको उपलब्धता कस्तो हुने भन्ने प्रश्न लन्चपछि नै स्पष्ट हुनेछ।

अन्तर्राष्ट्रिय बजारमा एड्भेन्चर तथा सिटी सेग्मेन्टमा लोकप्रिय बन्दै गएको लेट्बी ब्रान्डले नेपालमा पनि यही दुई मोडलमार्फत आफ्नो यात्रा सुरु गरेको हो। कम्पनीले आधिकारिक लन्चका क्रममा मोटरसाइकलको मूल्य, पूर्ण प्राविधिक विवरण र उपलब्धता सार्वजनिक गर्ने जनाएको छ।