काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले राजधानीवासीको खानेपानीको संकट टार्न शिवपुरीस्थित बागमती नदीबाट थप पानी ल्याउने भएको छ ।
केयुकेएलले मेलम्ची खानेपानी आयोजनाको आपूर्ति बन्द भएको अवस्थामा वैकल्पिक स्रोतको परिचालन गरी उपत्यकाको खानेपानी समस्या समाधान गर्ने प्रक्रिया अगाडि बढाएको हो।
पूर्वाधार विकास समितिको बुधवारको बैठकमा केयुकेएलका कार्यकारी निर्देशक रामरतन साहले शिवपुरीस्थित वागमती नदीबाट थप पानी ल्याउने योजनाबारे जानकारी दिएका हुन् ।
उनकाअनुसार मेलम्चीबाट दैनिक प्राप्त हुने १८ देखि २० करोड लिटर पानी आपूर्ति बन्द भएपछि केयुकेएलले वैकल्पिक स्रोतको खोजी गर्ने क्रममा शिवपुरीस्थित वागमतीको पानी ल्याउने ५–६ वर्ष पुरानो योजनालाई तीव्रता दिएको छ ।
वातावरणीय प्रभाव मूल्यांकन (इआईए) प्रतिवेदन र दररेटको समस्याका कारण रोकिएको आयोजना मंगलबारको बैठकबाट ईआईए प्रतिवेदन स्वीकृत भएसँगै फास्ट ट्रयाकमा अगाडि बढाइएको छ ।
हाल वागमतीबाट दैनिक दुई करोड लिटर पानी आपूर्ति भइरहेकोमा अब थप पाइपलाइन विस्तार गरी त्यसको क्षमता बढाइने भएको छ । पहिलेका दुई वटा १४ इन्चका पाइपका अतिरिक्त २० इन्चको नयाँ पाइप थप गर्ने कार्य सुरु भइसकेको छ । आयोजनाका लागि आवश्यक २०० मिटर डीआई पाइप संस्थासँगै उपलब्ध रहेको र बाँकी ५०० एमएमको एचडीपीई पाइप खरिद प्रक्रियामार्फत व्यवस्था गरिने साहले बताए ।
आगामी तीन हप्तादेखि एक महिनाभित्र यो कार्य सम्पन्न गरी उपत्यकामा थप चारदेखि पाँच करोड लिटर पानी आपूर्ति गर्ने लक्ष्य राखिएको छ ।
‘यो मेलम्ची काठमाडौँ उपत्यकामा पानीको स्रोतहरुमध्ये अहिले मेलम्चीबाट आउने स्रोत १८ देखि २० करोड लिटर बन्द भएको स्थितिमा हामीले वैकल्पिक पानीको स्रोत खोज्ने क्रममा बागमती सुन्दरीजल प्रशोधन केन्द्रको माथि वागमती खोलाबाट पानी ल्याउने ५–६ वर्ष पहिलेको योजना थियो । यो योजना विभिन्न कारणले ईआईए रिपोर्ट नभएर, दुईपल्ट टेन्डर गरे पनि दररेटको कारणले रद्द गर्नुपर्ने स्थिति थियो,’ साहले भने ।
एक महिनाभित्रै पाइप खरिद गरिसकेर शिवपुरीस्थित बागमती नदीबाट दैनिक चारदेखि पाँच करोड लिटरसम्म पानी ल्याउने साहको दाबी छ । सरकारले यसअघि नै बागमती धापमा कृतिम ताल निर्माण गर्ने कार्य अन्तिम चरणमा पुर्याइसकेको छ ।





