काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत राउन्ड अफ १६ को अन्तिम खेलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै स्विट्जरल्यान्ड ७२ वर्षपछि विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
क्यानडाको बीसी प्लेस भ्यानकुभर स्टेडियममा भएको खेलमा निर्धारित ९० मिनेट र त्यसपछिको ३० मिनेटको अतिरिक्त समयमा दुवै टोलीले गोल गर्न नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो।
पेनाल्टीमा स्विट्जरल्यान्डका ग्रानिट जाका, जेकी आम्दोनी, सेड्रिक इटेन र रुबेन वर्गासले गोल गर्दै टोलीलाई ऐतिहासिक जित दिलाए। म्यानुअल अकांजीले भने आफ्नो प्रहार गोलमा परिणत गर्न सकेनन्।
कोलम्बियाका जुआन क्विन्टेरो, जामिन्टन क्याम्पाज र लुइस डियाजले गोल गरे पनि डेभिन्सन सान्चेज र कुचो हर्नान्डेजले पेनाल्टी मिस गर्दा टोली प्रतियोगिताबाट बाहिरिन पुग्यो।
यो जितसँगै स्विट्जरल्यान्ड सन् १९५४ पछि पहिलोपटक विश्वकपको क्वार्टरफाइनलमा पुगेको हो। अब स्विट्जरल्यान्डले सेमिफाइनल प्रवेशका लागि अर्को कठिन चुनौतीको सामना गर्नेछ।






