काठमाडौं । पेट्रोल पम्पहरूले बुधबार नियमित माग परिमाणअनुसार नै तेल उठाएका छन् ।

काठमाडौं उपत्यकासहित नुवाकोट, काभ्रे, सिन्धुपाल्चोक, दोलखालगायत जिल्लामा इन्धन बिक्री गर्ने आयल निगमको थानकोट डिपोबाट बुधबार पम्पहरूले १३ लाख ६ हजार लिटर पेट्रोल र १२ लाख ७४ हजार लिटर डिजेल उठाएको डिपो प्रमुख जगदीश यादवले बताए ।

ADVERTISEMENT

सुदूरपश्चिमका पम्पहरूले दुई लाख ९० हजार लिटर पेट्रोल र सात लाख २४ हजार लिटर डिजेल उठाएको धनगढी डिपोले जनाएको छ ।

कर्णाली प्रदेशका पम्पले ८८ हजार लिटर पेट्रोल र दुई लाख ३२ हजार लिटर डिजेल उठाएको निगमको सुर्खेत कार्यालय प्रमुख दीपक घिमिरेले जानकारी दिए ।

ADVERTISEMENT

मंगलबार बेलुकादेखि पेट्रोलियम पदार्थको मूल्य घट्ने सूचना पाएपछि बागमती प्रदेशका विभिन्न जिल्लाका पेट्रोलपम्पले थानकोट डिपोबाट नियमित परिमाणमा इन्धन उठाएका थिएनन् । दैनिक ८०० केएल तेल उठाउने पेट्रोलपम्पले २०० केएल तेल उठाएका थिए । जसकारण बुधबार बिहानैदेखि अधिकांश पेट्रोलपम्प खुलेनन् ।