काठमाडौं । मदन भण्डारीको ७५औं जयन्तीको अवसर पारेर ‘मदन भण्डारी फाउन्डेसन’ ले आइतबार वाम शीर्ष नेता एवं चार पूर्वप्रधानमन्त्रीलाई एउटै मञ्चमा उपस्थित गरायो । एमाले अध्यक्ष केपी ओली, नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनाललाई एउटै मञ्चमा उपस्थित गराएर पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई ‘राजमाता’को रूपमा प्रभाव देखाउन खोजेकी थिइन् ।
प्रचण्ड र झलनाथले तत्काल वामपन्थी एकताको प्रस्ताव राखे । झलनाथले आजैका दिनदेखि एकता गर्न दबाब दिए । तर माधव नेपालले आत्ममन्थन नगरी एकता गर्नु फेरि पनि भूल हुने धारणा राखे । प्रचण्डले त नेपालबाट कम्युनिस्ट पार्टीको अस्तित्व नै नामेट गर्ने प्रयास भइरहेको भन्दै तत्काल एकता नगरे ठूलो दुर्घटना हुने चेतावनीसमेत दिए । तर एमाले अध्यक्ष ओलीले नीति र नेतृत्व मानेर आएमा पार्टी एकता हुने नत्र छलफलसम्म गर्न सकिने, तत्काल एकता नहुने घोषणा गरेपछि धैरै दिनदेखि वाम एकताको हल्लामा पानी फेरिएको छ ।
जुन किसिमले केही दिनभित्रै एमालेसँग कार्यगत एकता गरेर प्रचण्डले आफ्नो जीवनकै अन्तिम क्रमभंगता हुने घोषणा गरेका थिए, त्यो आइतबारदेखि सेलाएको छ । जेनजी आन्दोलनपछि पार्टीभित्र रूपान्तरण र पुस्तान्तरण नगरे जनताले पत्याउने अवस्था छैन । तर पनि पटकपटक राज्य सत्ता चलाएका, पार्टी नेतृत्वमा खिल जमाएर बसेका ओली, प्रचण्ड, माधव र झलनाथकै स्वार्थ पूरा गर्न वाम एकता किन भन्ने प्रश्न उब्जिएको छ ।
एमाले महासचिव शंकर पोखरेलले आइतबार राति वाम एकताको प्रयासलाई ‘प्रहसन’ भनेर टिप्पणी गरेपछि त शीर्ष नेताको जोसजाँगर हराएर गएको देखिएको छ ।
किनभने ओली, प्रचण्ड, माधव र झलनाथ कुनै समय एमाले र माओवादीबीच एकतापछि नेकपाका नेता थिए । तर व्यक्तिगत स्वार्थर इगोका कारण टिक्न सकेन । त्यही भएर एमाले महासचिव पोखरेलले भनेका छन्, ‘इतिहासमा उस्तै घटनाहरू पहिलोपटक नाटकका रूपमा र दोस्रोपटक प्रहसनका रूपमा घटित हुन्छन्। मार्क्सको यो भनाइले स्पष्ट पार्छ– समय र परिस्थिति बदलिसकेपछि विगतका घटना, नारा वा प्रवृत्तिलाई हुबहु दोहोर्याउनु (पुनरावृत्ति गर्नु) उचित हुँदैन।’
पोखरेलले स्पष्टसँग अब वाम एकता हुँदैन भनेर घोषणा नै गरेका छन् । उनको यो घोषणाले प्रचण्ड, झलनाथ जस्ता नेताको चाहनामा ठूलो धक्का लागेको छ । पछिल्लो समय एमालेमा शंकर पोखरेल र विष्ण पौडेल पार्टी रुपान्तरणको अभियानमा लागेका छन् । भलै पौडेल सम्पत्ति शुद्धीकरणको अभियोगमा प्रहरी हिरासतमा छन् । तर पोखरेलले भने यो अभियान जारी राखेका छन् । पोखरेलले वाम एकता तत्कालको आवश्यकता नभएको र गर्न नहुने भनेर दिएको अभिव्यक्तिलाई एमालेमा धेरैले सही मानेका छन् ।
गोकुल बासकोटा, सूर्य थापा, उषाकिरण तिम्सेना जस्ता नेताहरूले पार्टी रुपान्तरण र पुस्तान्तरण नभएसम्म वाम एकता आवश्यक नभएको र फेरि भए प्रहसन हुने बताएका छन् । किनकि २०७८ सालमै नेकपा विभाजन भएकाले ओली र प्रचण्डले दुःखान्त बेहोरिसकेका छन् ।
ओलीले पार्टीमा रुपान्तरण र पुस्तान्तरणको बहसलाई ध्यान मोड्न नेकपासँग कार्यगत एकताको झटारो हानेको र आफू पदमा टिकिरहने प्रपञ्च भएको धेरैको अनुमान छ ।








