काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले ग्राहकलाई लक्षित गर्दै आकर्षक घर कर्जा योजना सार्वजनिक गरेको छ, जसअन्तर्गत ६.९९ प्रतिशत प्रतिवर्ष स्थिर ब्याजदरमा दीर्घकालीन घर कर्जा उपलब्ध गराइने जनाएको छ।
बैंकका अनुसार यो योजना विशेषगरी आफ्नै घरको सपना पूरा गर्न चाहने सर्वसाधारण तथा मध्यम आय समूहलाई लक्षित गरिएको हो। स्थिर ब्याजदर भएकाले कर्जाको अवधि भर किस्ता रकममा ठूलो उतारचढाव नहुने भएकाले ग्राहकलाई दीर्घकालीन आर्थिक योजना बनाउन सहज हुने विश्वास बैंकले लिएको छ।
यो घर कर्जा योजना अन्तर्गतको ब्याजदर सात वर्षसम्म स्थिर रहनेछ। सात वर्षपछि भने बैंकको प्रचलित औसत मासिक आधार दरमा १५ प्रतिशत प्रिमियम थप गरी ब्याजदर कायम गरिने व्यवस्था गरिएको छ। साथै, ग्राहकले परिवर्तनशील ब्याजदर विकल्प रोजेमा मासिक आधार दरमा ०.५५ प्रतिशत प्रिमियम थप गरी कर्जा सुविधा लिन सक्नेछन्।
बैंकले यो योजना २०८३ असार मसान्तसम्म लागू रहने जनाएको छ। बैंकका अनुसार ग्राहकले आफ्नो आवश्यकता अनुसार स्थिर वा परिवर्तनशील ब्याजदरमध्ये उपयुक्त विकल्प चयन गर्न सक्नेछन्।
देशभर विस्तार भइरहेको शाखा सञ्जालमार्फत ग्राहकले सजिलै कर्जा सम्बन्धी जानकारी लिन र आवेदन दिन सक्ने व्यवस्था मिलाइएको बैंकले जनाएको छ। बैंकका शाखाहरूमा पुगेर आवश्यक कागजात पूरा गरेपछि छिटो प्रक्रिया मार्फत कर्जा स्वीकृति प्रदान गरिने दाबी गरिएको छ।
बैंकले यो योजनाले देशमा घर निर्माण तथा रियल इस्टेट क्षेत्रमा थप गति दिने अपेक्षा गरेको छ।





