काठमाडौं । रास्वपा सांसद डा. तोसिमा कार्कीले बहुविवाह कानुनी बनाउन लागिएको भनी फैलिएको चर्चाबारे सरकारको स्पष्ट धारणा माग गरेकी छन्।

मिडिया र सामाजिक सञ्जालमा बहुविवाहसम्बन्धी मस्यौदा तयार हुँदैछ भन्ने हल्लाले भ्रम फैलिएको भन्दै उनले मंगलबार कानुनमन्त्री अजय चौरसियालाई भेटेर आधिकारिक पत्र बुझाएकी हुन्।

ADVERTISEMENT

कार्कीले पत्रमार्फत हालसालै मन्त्रालयमा यस्ता मस्यौदा वा छलफल चलेको हो कि होइन, यदि हो भने त्यसको कानुनी आधार के हो भनेर जानकारी माग गरेकी छन्। साथै, उनले मन्त्रालयबाट यस्ता भ्रम चिर्न आधिकारिक खण्डन वा जनचेतनामूलक वक्तव्य जारी गर्न माग गरेकी छन्।

यस्तै, बहुविवाहलाई फेरि कानुनले मान्यता दिन लागेको भन्ने चर्चा सत्य हो वा होइन भन्ने विषयमा मन्त्रालयको धारणा के छ ? यस्ता सूचना यदि गलत हुन् भने तिनको खण्डन वा जनचेतनामूलक आधिकारिक वक्तव्य मन्त्रालयले जारी गर्ने योजना के रहेको छ ? सो प्रक्रिया संविधान, अन्तर्राष्टिय, मानवअधिकार, सन्धि र महिला अधिकारसम्वन्धि प्रतिवद्धतासँग कसरी मेल खान्छ ? जस्ता प्रश्न उनले कानुनमन्त्रीसँग राखेकी छन् ।

ADVERTISEMENT

कार्कीले बहुविवाह दण्डनीय अपराध हो भन्ने प्रचलित कानुनको स्मरण गराउँदै यस विषयमा सरकार गम्भीर र स्पष्ट हुनुपर्ने बताएकी छन्।