काठमाडौं । कक्षा १२ को नतिजा अपेक्षाभन्दा छिटो सार्वजनिक भएको विषयमा विभिन्न प्रश्न उठ्न थालेपछि शिक्षामन्त्री साश्मत पोखरेलले स्पष्टीकरण दिएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले नतिजा प्रकाशन प्रक्रियामा कुनै आवश्यक प्रक्रिया नहटाइएको र उत्तरपुस्तिका परीक्षणमा हतार नगरिएको दाबी गरेका छन्।

मन्त्री पोखरेलले विगतमा नतिजा सार्वजनिक हुन अनावश्यक ढिलाइ हुने गरेको उल्लेख गर्दै यस वर्ष भने त्यही ढिलासुस्ती अन्त्य गरिएकाले नतिजा समयमै प्रकाशित भएको बताएका छन्। उनका अनुसार यसलाई “असामान्य रूपमा छिटो” आएको भन्दा पनि विगतको ढिलो प्रक्रियालाई सुधार गरिएको रूपमा बुझ्नुपर्ने हुन्छ।

ADVERTISEMENT

उनले नतिजा छिटो ल्याउनका लागि कुनै पनि महत्वपूर्ण प्रक्रिया हटाइएको भन्ने आरोपको खण्डन गर्दै विगतमा उत्तरपुस्तिका परीक्षणपछि समपरीक्षणका लागि सबै सामग्री काठमाडौं ल्याउनुपर्ने व्यवस्था रहेकोमा यस वर्ष सम्बन्धित स्थानमै समपरीक्षण गर्न सकिने व्यवस्था मिलाइएको जानकारी दिएका छन्। यसले समय बचत हुनुका साथै प्रशासनिक झन्झट पनि कम भएको उनको भनाइ छ।

मन्त्री पोखरेलका अनुसार उत्तरपुस्तिका लामो समयसम्म रोकिराख्ने अभ्यास अन्त्य गरिएको छ भने परीक्षण प्रक्रिया पनि समयमै सुरु गरिएको थियो। यद्यपि यसलाई परीक्षकमाथि अनावश्यक दबाब सिर्जना गरेर हतारमा परीक्षण गराइएको रूपमा बुझ्न नहुने उनको तर्क छ।

ADVERTISEMENT

उनले परीक्षण कार्यलाई प्रभावकारी बनाउन अघिल्ला वर्षहरूको तुलनामा बढी जनशक्ति परिचालन गरिएको र अनावश्यक प्रक्रियागत तथा प्रशासनिक ढिलाइ हटाइएको बताएका छन्।

कक्षा १२ को नतिजापछि पुनर्योग  शुल्क वृद्धि भएको विषय पनि चर्चामा आएपछि मन्त्री पोखरेलले त्यसबारे पनि स्पष्टिकरण दिएका छन्। उनका अनुसार पुनर्योग शुल्क वृद्धि वर्तमान सरकारको निर्णय नभई गत वर्षकै पूरक परीक्षादेखि लागू भएको व्यवस्था हो। यस विषयमा वर्तमान सरकारले कुनै नयाँ निर्णय नगरेको उनले बताएका छन्।

मन्त्री पोखरेलले यस वर्षको नतिजामा उत्तीर्ण प्रतिशत पनि उल्लेखनीय रूपमा बढेको दाबी गरेका छन्। उनका अनुसार गत वर्षको तुलनामा यस वर्ष उत्तीर्ण हुने विद्यार्थीको संख्या करिब ८ प्रतिशतले वृद्धि भएको छ।

नतिजा प्रकाशन प्रक्रियामाथि उठेका प्रश्नहरूबीच शिक्षामन्त्रीले पुनः दोहोर्‍याउँदै उत्तरपुस्तिका परीक्षणमा हतार नगरिएको, आवश्यक जनशक्ति थप गरिएको, समपरीक्षणलाई विकेन्द्रीकृत गरिएको तथा पुराना ढिलासुस्तीपूर्ण अभ्यास हटाएर मात्र नतिजा समयमै सार्वजनिक गरिएको बताएका छन्।