काठमाडौं । नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईसहितका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा बोलाएर थर्काउने र हतोत्साही गर्नेमाथि कारबाही गर्न माग गरेको छ ।
शुक्रबारको प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसद खडगबहादुर बुढाले प्रधानमन्त्री कार्यालयमा बसेर अख्तियारलाई थर्काउने र हुकुम चलाउनेहरू को हुन् ? भनी प्रश्न गरेका हुन् । प्रधानमन्त्री बालेन्द्र शाहहका सहयोगीहरूले अख्तियार प्रमुखसहितको टोलीलाई प्रधानमन्त्री कार्यालय बोलाएर राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल र निर्देशक सुनिल केसीलाई पक्राउ गर्न दबाब दिएका थिए ।
पासपोर्ट छपाइमा घोटाला गरेको आरोप लगाइएका उनीहरूलाई तत्काल पक्राउ नगरे ठिक नहुने भन्दै अख्तियारको टोलीलाई अभद्र व्यवहार गरेकोसम्मका विवरण सार्वजनिक भएका छन् ।
बैठकमा बुढाले प्रधानमन्त्री कार्यालयमा बसेर कालो चश्मा लगाएर मुलुकमाथि शासन चलाउन खोज्ने कार्य स्वीकार्य नहुने स्पष्ट पारे । उनले अख्तियारलाई प्रधानमन्त्री कार्यालय मातहतको निकाय नठान्न चेतावनी दिए। ‘प्रधानमन्त्रीले बुझ्नुभएको छ कि छैन ? अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रधानमन्त्री कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्र होइन । संवैधानिक अंग हो,’ उनले ‘यसको काम आवश्यक परेको बेला सरकारमाथि पनि निगरानी राख्ने र राज्य शक्तिमा चेक एण्ड ब्यालेन्स कायम राख्ने हो । अख्तियार कसैको गोजीको संस्था होइन ।’
प्रधानमन्त्री कार्यालयले अख्तियारलाई तर्साएर आफनो निर्णय गराउँदा भविष्यमा प्रधानमन्त्रीका बदमासी रोक्न नसकिने अवस्था नआउनेतर्फ उनले गम्भीर चिन्ता व्यक्त गरे ।
‘कुनै बेला पञ्चायतकालमा भूमिगत गिरोहको बारेमा चर्चा गरेको मैले सुनेको थिए । ठ्याक्कै त्यस्तै लोकतान्त्रिक गणतन्त्रमा एउटा अर्को प्रकारको गिरोहको चर्चा हुन थालेको छ,’ उनले भने, ‘प्रधानमन्त्री कार्यालयमा बसेर अख्तियारलाई थर्काउने र हुकुम चलाउनेहरु को हुन् ? तिनीहरु नेपालको संविधान र कानूनले नचिनेका केवल कालो चश्मा लगाएर राज्यका संयन्त्रहरु कब्जा गर्न बसेका नयाँ गिरोहका सदस्य हुन् ।’
सांसद बुढाले सबै मन्त्रालयमा मन्त्री देखाउने अनुहारमात्रै भएको, तर भित्रभित्रै अर्कै शक्ति सक्रिय रहेको दाबीसमेत गरेका छन् । त्यस्ता अदृष्य शक्ति मुलुक र लोकतन्त्रका लागि शुभसंकेत नभएको उनको भनाइ थियो ।






