काठमाडौं।  ब्रिटिस एजुकेशन ग्रुप (बीईजी) अन्तर्गत सञ्चालित द ब्रिटिस कलेज (टीबीसी) ले प्रतिष्ठित ब्रिटिस एक्रिडिटेसन काउन्सिल (बीएसी) बाट पुनः अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको छ। कलेजले स्वतन्त्र उच्च शिक्षा संस्थाका रूपमा मान्यता नवीकरण गराउँदै नेपालमै यस्तो मान्यता कायम राख्ने पहिलो तथा हालसम्मको एकमात्र शैक्षिक संस्था बनेको जनाएको छ।

कलेजद्वारा जारी विज्ञप्तिअनुसार प्राप्त मान्यता सन् २०३० मे ३१ सम्मका लागि मान्य रहनेछ। मान्यता नवीकरणका लागि बेलायतबाट आएका निरीक्षकहरूको टोलीले कलेजको शैक्षिक कार्यक्रम, अध्यापनको गुणस्तर, संस्थागत सुशासन, विद्यार्थी सहयोग सेवा, भौतिक पूर्वाधार, अनलाइन शिक्षण व्यवस्था, अतिरिक्त क्रियाकलाप तथा स्नातकहरूको रोजगारी सम्भावनासहित विभिन्न पक्षको विस्तृत मूल्याङ्कन गरेको थियो।

ADVERTISEMENT

सन् १९८४ मा स्थापना भएको ब्रिटिस एक्रिडिटेसन काउन्सिल विश्वभरका स्वतन्त्र उच्च तथा थप शिक्षण संस्थाको गुणस्तर मूल्याङ्कन गर्ने प्रतिष्ठित निकायका रूपमा परिचित छ। बीएसीको मान्यतालाई शैक्षिक गुणस्तर, संस्थागत पारदर्शिता, सुशासन तथा उत्कृष्टताको अन्तर्राष्ट्रिय मानक मानिन्छ।

द ब्रिटिस कलेजका एकेडेमिक डिन डा. डेक्लान पी. ब्याननले पुनः प्राप्त मान्यताले कलेजको शैक्षिक प्रणाली, प्राध्यापक तथा कर्मचारीहरूको समर्पण र अन्तर्राष्ट्रियस्तरको शिक्षा प्रदान गर्ने प्रतिबद्धताको पुष्टि गरेको बताए। उनले यस उपलब्धिले विद्यार्थी र अभिभावकको विश्वास अझ सुदृढ बनाएको उल्लेख गरे।

ADVERTISEMENT

कलेज तथा ब्रिटिस एजुकेसन ग्रुपका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत राजन कँडेलले नेपालमा यस्तो अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्ने पहिलो कलेज हुनु गर्वको विषय भएको बताउँदै आगामी दिनमा पनि अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यासहरू अवलम्बन गर्दै नेपालको उच्च शिक्षाको विकासमा योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे।

कलेजका अनुसार हालै केही समूहबाट फैलाइएका भ्रामक सूचनाका बाबजुद स्वतन्त्र अन्तर्राष्ट्रिय मूल्याङ्कन प्रक्रियाबाट सफलतापूर्वक पुनः मान्यता प्राप्त हुनु संस्थाको गुणस्तर र विश्वसनीयताको प्रमाण हो।