काठमाडौं । फिफा विश्वकप अन्तर्गत गएराति लस एन्जल्समा सम्पन्न समूह ‘बी’को खेलमा स्विट्जरल्यान्डले बोस्निया हर्जगोभिनामाथि ४–१ को प्रभावशाली जित हासिल गरेको छ।

यस जितसँगै स्विट्जरल्यान्डले दुई खेलबाट चार अंक जोड्दै नकआउट चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ। लगातार दोस्रो खेलमा जित निकाल्न नसकेको बोस्निया भने समूह चरणबाटै बाहिरिने जोखिममा पुगेको छ।

ADVERTISEMENT

खेलको निर्णायक मोड वैकल्पिक खेलाडी जोहान मान्जाम्बीले परिवर्तन गरेका थिए। मैदान प्रवेश गरेको तीन मिनेटमै उनले ७४औँ मिनेटमा गोल गर्दै स्विट्जरल्यान्डलाई अग्रता दिलाए। बोस्नियाका रक्षकले क्लियर गर्न खोजेको बललाई उनले उत्कृष्ट रूपमा गोलमा परिणत गरेका थिए।

स्विट्जरल्यान्डका अर्का वैकल्पिक खेलाडी रुबेन भार्गासले ८४औँ मिनेटमा गोल थप्दै अग्रता दोब्बर बनाए। त्यसपछि मान्जाम्बीले ९०औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३–० को सहज स्थितिमा पुर्‍याए।

ADVERTISEMENT

इन्जुरी समयको तेस्रो मिनेटमा बोस्नियाका इर्मिन माहमिजले सान्त्वना गोल फर्काए पनि त्यसले खेलको नतिजा बदल्न सकेन। खेलको अन्तिम समयमा कप्तान ग्रानिट जाकाले पेनाल्टीमार्फत गोल गर्दै स्विट्जरल्यान्डको ४–१ को जित सुनिश्चित गरे।

यसअघि समूह चरणको पहिलो खेलमा स्विट्जरल्यान्डलाई कतारले १–१ को बराबरीमा रोकेको थियो भने बोस्निया क्यानडासँग पनि १–१ को बराबरीमा रोकिएको थियो। स्विट्जरल्यान्डले अब अन्तिम समूह खेलमा जित वा बराबरी हासिल गरे नकआउट चरणमा स्थान सुरक्षित गर्न सक्नेछ।