काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा तथा खेलकुद क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको बताएका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत शिक्षा तथा खेलकुद मन्त्रालयको विनियोजन शीर्षकमा उठेका प्रश्नको जवाफ दिँदै उनले उपलब्ध स्रोतका आधारमा शिक्षा तथा खेलकुद क्षेत्रका लागि अधिकतम बजेट छुट्टयाइएको जानकारी दिए ।

ADVERTISEMENT

‘आव २०८३–८४ को कूल राष्ट्रिय बजेट २१ खर्ब २४ अर्ब ३४ करोड ४४ लाखमध्ये शिक्षा तथा खेलकुद क्षेत्रमा दुई खर्ब १८ अर्ब ३० करोड ५० लाख विनियोजन गरिएको छ’, मन्त्री पोखरेलले भने, ‘यो कूल राष्ट्रिय बजेटको १०.२८ प्रतिशत हो ।’ पोखरेलले प्रतिशतका हिसाबले यो बजेट चालू आवको तुलनामा ०.४७ प्रतिशतले कम भए पनि परिमाणका हिसाबमा चालू आवको भन्दा प्रस्तावित बजेट सात अर्बले बढेको जानकारी दिए ।

‘संघीय तहबाट आगामी वर्षका लागि शिक्षा तथा खेलकुद क्षेत्रमा विनियोजन भएको बजेट १०.२८ प्रतिशत रहेको भए तापनि विगत वर्षमा प्रदेश सरकारबाट विद्यालय नर्स, शिक्षण अनुदान कोटा, सूचना तथा सञ्चार प्रविधिसम्बन्धी ल्याब र विद्यालय पूर्वाधार निर्माणमा बजेट विनियोजन हुने बजेट उल्लेख्य नै रहने छ’, मन्त्री पोखरेलले भने ।

ADVERTISEMENT

विद्यालय शिक्षामा सबैभन्दा बढी ६९.४९ प्रतिशत, उच्च शिक्षातर्फ ११.०४, प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिममा २.५६ प्रतिशत, खेलकुदमा १.७४ प्रतिशत र व्यवस्थापनमा १५.१७ प्रतिशत बजेट विनियोजन गरिएको उनले जानकारी दिए ।

‘विद्यालय शिक्षा उपक्षेत्रमा विनियोजित बजेट एक खर्ब ५१ अर्ब ६९ करोड ७१ लाखमध्ये पूर्वाधार निर्माणमा जम्मा १० अर्ब ४५ करोड २४ लाख ४ हजार विनियोजन गरिएको छ’, उनले भने ।

आगामी वर्षको बजेटमा सात हजार ६६० जनाका लागि नवीनतम् तथा बजार माग अनुकूलका सीप विकास तालिमका लागि बजेट विनियोजन गरिएको जानकारी दिँदै मन्त्री पोखरेलले एसइई परीक्षा सञ्चालनको कार्य प्रदेश तहबाट गर्ने गरी ३५ करोड विनियोजन गरिएको उल्लेख गरे ।

विद्यालय शिक्षा क्षेत्र योजनाअन्तर्गत प्रदेश तहका लागि विनियोजन गरिएको ६२ करोड ४० लाखमध्ये भौतिक पूर्वाधारमा २७ करोड ६० लाख र शिक्षक तालिममा २७ करोड ५० लाख विनियोजन भएको उनले जानकारी दिए ।

मन्त्री पोखरेलले गोरखा भूकम्पबाट प्रभावित १४ जिल्ला र पश्चिम नेपाल भूकम्पबाट प्रभावित बझाङ, जाजरकोट, रुकुम पश्चिम, मनाङ मुस्ताङ गरी १९ जिल्लाबाहेकका सबै स्थानीय तहका विद्यार्थी सङ्ख्याका आधारमा दुई अर्ब ३७ करोड दुई लाख स्थानीय तहको साझेदारीमा विद्यालयको भौतिक निर्माण अनुदानका लागि छुट्टयाइएको जानकारी दिए ।

मन्त्री पोखरेलले विद्यालय शिक्षामा क्रमशः डिजिटल सिकाइतर्फ फड्को मार्नका लागि माध्यमिक तह सञ्चालन भएका सबै सामुदायिक विद्यालयमा स्मार्टबोर्ड व्यवस्थापनका लागि एक अर्ब सात करोड बजेट व्यवस्थापन गरिएको उल्लेख गरे ।

प्रारम्भिक बालविकास कक्षादेखि कक्षा ५ सम्म सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि दिवा खाजाको प्रबन्धलाई निरन्तरता दिइएको जानकारी दिँदै मन्त्री पोखरेलले साविकको कर्णाली अञ्चलका जिल्लाका विद्यार्थीका लागि प्रतिदिन रु २५ र अन्य जिल्लाका विद्यार्थीका लागि प्रतिदिन रु २० का दरले बजेट विनियोजन गरिएको बताए ।

मन्त्री पोखरेलले संरचनागत र संस्थागत सुधारका साथै विनियोजन कुशलता कायम गरी गुणस्तरीय खर्च सुनिश्चित गर्ने सम्बन्धमा आगामी आवमा उल्लेख्य कदम चालिने अवगत गराए । शिक्षा मन्त्रीले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुपको परिमार्जनका लागि कार्यदल गठन गरी काम अगाडि बढाइएको उल्लेख गर्दै उक्त प्रारुपले विद्यालय शिक्षामा रहने विषय र पाठ्यभार यकीन गर्ने बताए ।

हाल आधारभूत तहको खुद भर्नादर ९७.७ प्रतिशत र सो तहको शिक्षा पूरा गर्ने दर ७४ प्रतिशत रहेको जानकारी दिँदै उनले आधारभूत शिक्षाको पहुँच बाहिर रहेका बालबालिकालाई विद्यालय शिक्षामा ल्याउनका लागि विभिन्न प्रयत्नहरू गरिएको स्पष्ट पारे ।

खेलाडीको हौसला अभिवृद्धिका लागि राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रथम हुने खेलाडीलाई र राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने खेलाडी तथा नयाँ राष्ट्रिय रेकर्ड राख्ने खेलाडीलाई नगद पुरस्कारको व्यवस्था गरिएको उनले बताए ।

अन्तर्र्राष्ट्रिय प्रतियोगितामा विजयी भई राष्ट्रको प्रतिष्ठा अभिवृद्धि गर्ने खेलाडीलाई नेपाल सरकारले नगद पुरस्कारसहित सम्मान गर्न राष्ट्रिय खेलकुद विकास नियमावलीर्मै व्यवस्था गरिएको उनले बताए ।