काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद र शक्ति संघर्ष थप चर्किएको संकेत देखिएको छ । पार्टी संस्थापन पक्षले एकताका लागि सातबुँदे प्रस्ताव अघि सारे पनि संस्थापन इतर पक्षले त्यसप्रति सकारात्मक प्रतिक्रिया नजनाएपछि कांग्रेसभित्रको किचलो उत्कर्षमा पुगेको छ।

उपसभापति विश्वप्रकाश शर्माले जेठ १६ गते पार्टीभित्र बृहत् सहमति कायम गर्ने उद्देश्यसहित शीर्ष नेताहरूलाई सातबुँदे प्रस्ताव पठाएका थिए। तर प्रस्ताव पठाएको दुई साताभन्दा बढी समय बितिसक्दा पनि निवर्तमान सभापति शेरबहादुर देउवा, पूर्णबहादुर खड्कालगायतका नेताहरूले औपचारिक प्रतिक्रिया दिएका छैनन्।

ADVERTISEMENT

यहीबीच विराटनगरमा आयोजित संस्थापन इतर पक्षको भेलामा नेता डा. शेखर कोइरालाले सभापति गगन थापामाथि सहमतिका विषयबाट पछि हटेको आरोप लगाएका थिए। अर्का नेता कृष्णप्रसाद सिटौलाले पनि सातबुँदे प्रस्तावलाई ‘नाटक’को संज्ञा दिँदै असन्तुष्टि व्यक्त गरेका थिए।

कांग्रेसभित्र जारी क्रियाशील सदस्यता अद्यावधिक अभियानमा समेत संस्थापन इतर पक्ष निष्क्रिय देखिएको छ। देउवा, खड्का, शेखर कोइराला र सिटौलासहितका शीर्ष नेताहरूले अहिलेसम्म सदस्यता अद्यावधिक नगरेको बताइएको छ। महाधिवेशन प्रतिनिधि चयनका लागि अनिवार्य मानिने क्रियाशील सदस्यता प्रक्रियामा सहभागिता नजनाइनुले पार्टीभित्र थप राजनीतिक सन्देश दिएको विश्लेषण गरिएको छ।

ADVERTISEMENT

स्रोतका अनुसार इतर पक्ष अहिले पाँचवटा सम्भावित विकल्पमाथि छलफलमा छ। विशेष महाधिवेशनबाट बनेको वर्तमान कार्यसमिति विघटनदेखि नयाँ निर्वाचन समिति गठन, माग सम्बोधनका लागि थप प्रतीक्षा, छुट्टै नेतृत्व घोषणा गर्ने वा अन्य विकल्प खोज्ने विषयमा आन्तरिक गृहकार्य भइरहेको बताइएको छ।

इतर पक्षले केही दिनभित्रै आफ्नो रणनीति सार्वजनिक गर्न सक्ने संकेत दिएको छ।