काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत ललितपुरको भट्टेडाँडास्थित श्री सातकन्या आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विद्यालय पोशाक सहयोग गरेको छ।

बैंकले विद्यार्थीहरूको पठनपाठनलाई सहज बनाउन तथा विद्यालयमा गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्ने उद्देश्यले उक्त सहयोग उपलब्ध गराएको जनाएको छ।
बुधबार आयोजित विशेष कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुजित कुमार शाक्य र नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द दाहाल तथा प्रधानाध्यापक रामप्रसाद घिमिरेलाई संयुक्त रूपमा विद्यालय पोशाक हस्तान्तरण गरेका थिए।
हाल १०२ भन्दा बढी विद्यार्थी अध्ययनरत रहेको उक्त विद्यालयमा आयोजित कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक तथा बैंकका कर्मचारीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा अरनिको एल्मुनाई एसोसियसन, खुमलटारले सहजीकरणको भूमिका निर्वाह गरेको थियो।

बैंकले उपलब्ध गराएको सहयोगले विद्यार्थीहरूको शैक्षिक गतिविधिमा थप सहजता ल्याउनुका साथै विद्यालयमा अध्ययनको वातावरण सुधार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।
एनआईसी एशिया बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा सामाजिक विकासका विभिन्न क्षेत्रमा समय-समयमा सहयोगात्मक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।






