धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेशको सभापतिमा इन्जिनियर प्रकाश विष्ट पुनः निर्वाचित भएका छन्। धनगढीमा सम्पन्न पार्टीको प्रथम प्रदेश महाधिवेशनबाट विष्टले प्रतिनिधिसभा सदस्य जनकसिंह धामीलाई फराकिलो मतान्तरले पराजित गर्दै नेतृत्वमा निरन्तरता पाएका हुन्।
निर्वाचन परिणामअनुसार विष्टले ३५८ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी धामीले १५४ मत पाए। कुल ५१३ मत खसेकोमा एक मत बदर भएको थियो। कञ्चनपुर–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य धामीलाई दोब्बरभन्दा बढी मतान्तरले पराजित गर्दै विष्टले संगठनभित्र आफ्नो प्रभाव कायम रहेको सन्देश दिएका छन्।
वि.सं. २०७९ माघ २६ गते रास्वपाको तदर्थ प्रदेश समितिको सभापति बनेका विष्ट सुदूरपश्चिममा पार्टी संगठन निर्माण र विस्तारका प्रमुख अभियन्तामध्ये एक मानिन्छन्। कैलालीको टीकापुर स्थायी घर भएका विष्ट पेशाले इन्जिनियर हुन्।
यस महाधिवेशनले विष्टको राजनीतिक यात्रामा रोचक मोड पनि ल्याएको छ। २०८४ को प्रतिनिधिसभा निर्वाचनअघि उनी कैलाली–१ बाट उम्मेदवार बन्न इच्छुक थिए। तर पार्टीले उनलाई टिकट नदिई कोमल ज्ञवालीलाई उम्मेदवार बनाएको थियो। त्यसपछि प्रदेश नेतृत्वको प्रतिस्पर्धामा विष्टले प्रत्यक्ष रूपमा एक बहालवाला सांसदसँग प्रतिस्पर्धा गर्दै विजय हासिल गरेका हुन्।
महाधिवेशनअघि सभापतिका आकांक्षीका रूपमा जनकराज पन्त, नारायण वैद्य तथा सांसद केपी खनालको नाम पनि चर्चामा थियो। तर अन्तिम समयमा उनीहरू प्रतिस्पर्धाबाट बाहिरिएपछि मुख्य प्रतिस्पर्धा विष्ट र धामीबीच भएको थियो।
पार्टीभित्रको आन्तरिक समीकरण, नेतृत्व चयन र संगठन विस्तारका विषयमा महाधिवेशन अवधिभर व्यापक छलफल भएको थियो। विष्टले उद्घाटन सत्रमै पार्टीभित्र गुटबन्दीको प्रवृत्तिप्रति असन्तुष्टि जनाउँदै संगठनलाई पुराना दलहरूको शैलीमा लैजान नहुने धारणा राखेका थिए।
पुनः सभापतिमा निर्वाचित भएपछि विष्टले आफूलाई प्राप्त जनमतले थप जिम्मेवार बनाएको प्रतिक्रिया दिए। उनले सुदूरपश्चिमको विकास, समृद्धि र संगठन सुदृढीकरणलाई प्राथमिकतामा राख्दै सबै पक्षलाई साथ लिएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
“यो जित व्यक्तिगत विजय होइन, सुदूरपश्चिममा वैकल्पिक राजनीतिक संस्कृतिको पक्षमा आएको जनादेश हो। अब हामी सबैलाई साथमा लिएर पार्टीलाई अझ बलियो बनाउनेछौं,” विष्टले भने।
इन्जिनियरिङ पृष्ठभूमिका विष्टले ‘इम्बेडेड सिस्टम्स’ विषयमा स्नातकोत्तर अध्ययन गरेका छन्। करिब १५ वर्ष भारतमा बसेर हनिवेललगायत अन्तर्राष्ट्रिय कम्पनीहरूमा प्राविधिक, व्यवस्थापन तथा नेतृत्व तहमा काम गरेका उनले जर्मनी र अमेरिकामा समेत व्यावसायिक अनुभव हासिल गरेका छन्। हाल उनी कैलालीमा व्यवसाय तथा कृषि उपकरण नवप्रवर्तनका क्षेत्रमा सक्रिय छन्।






