वीरगन्ज । त्रिभुवन राजमार्गअन्तर्गत वीरगन्जको मेनरोड क्षेत्रमा सडक सीमाभित्र परेका बाँकी घर तथा भवनमा फेरि डोजर चल्ने भएको छ। सडक विभाग मातहतको सडक डिभिजन कार्यालय हेटौंडाले पाँच दिनभित्र संरचना खाली गरी हटाउन सम्बन्धित घरधनीलाई अन्तिम चेतावनी दिएको छ।
गत वैशाख ६ र ७ गते सडक विभागले सडक सीमा संरक्षण अभियानअन्तर्गत मेनरोड क्षेत्रमा दायाँ–बायाँ २५/२५ मिटरभित्र पर्ने घर, भवन तथा अन्य संरचनामा डोजर चलाएर आंशिक रूपमा भत्काएको थियो। त्यसबेला विभागले २५ दिनभित्र बाँकी संरचना आफैं हटाउन आग्रह गरेको भए पनि अधिकांश घरधनीले अटेर गरेपछि पुनः डोजर परिचालन गर्ने तयारी गरिएको हो।
मंगलबार जारी सूचनामा सडक डिभिजन हेटौंडाले त्रिभुवन राजपथअन्तर्गत सिरसिया मितेरी पुलदेखि बहुअरी गण्डक चोकसम्मको सडक खण्डमा सडकको केन्द्ररेखाबाट दायाँ–बायाँ २५/२५ मिटर क्षेत्रलाई सडक सीमा कायम गर्ने कार्य जारी रहेको जनाएको छ।
विभागले आंशिक रूपमा क्षतिग्रस्त भवनहरूमा अझै पनि बसोबास तथा व्यापार व्यवसाय सञ्चालन भइरहेको जानकारी प्राप्त भएकाले त्यस्ता जोखिमयुक्त भवनमा नबस्न र व्यापार सञ्चालन नगर्न आग्रह गरेको छ। सूचनाको बेवास्ता गरी कुनै अप्रिय घटना भए त्यसको जिम्मेवारी सम्बन्धित व्यक्ति स्वयंले वहन गर्नुपर्ने चेतावनी पनि दिइएको छ।
साथै सडक सीमाभित्र बाँकी रहेका संरचनाहरू पाँच दिनभित्र आफैं हटाउन आग्रह गर्दै अन्यथा सडक ऐन, २०३१ बमोजिम विभागले नै हटाउने स्पष्ट पारिएको छ।
यसअघि गण्डक चोकदेखि मितेरी पुलसम्मको मेनरोड क्षेत्रमा करिब एक हजार २०० घर तथा भवनमा डोजर चलाइएको थियो। त्यसपछि केही घरधनीले आफैं संरचना हटाए पनि घण्टाघर, माईस्थान, आदर्शनगर हुँदै अलखियामठ चोकसम्मका अधिकांश घर तथा भवन यथावत रहेका छन्।
उता सडक विस्तारको विरोधमा स्थानीय घरधनीहरू निरन्तर आन्दोलनमा छन्। उनीहरूले सडक विस्तार कार्य तत्काल रोक्नुपर्ने तथा मेनरोड क्षेत्रलाई शहरी मार्गका रूपमा कायम गर्नुपर्ने माग गर्दै आएका छन्।







