काठमाडौं।  कुमारी बैंक लिमिटेड अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ‘इन्फोसिस फिन्याकल इनोभेसन अवार्ड्स २०२५’ अन्तर्गत ‘व्यावसायिक मोडेल नवप्रवर्तन (बिजनेस मोडेल इनोभेसन)’ विधामा उच्च तहको प्ल्याटिनम अवार्डबाट सम्मानित भएको छ।

बैंकले कार्यान्वयन गरेको ग्राहक पहिचान तथा अनुपालन प्रक्रिया (केवाईसी वर्कफ्लो कम्प्लायन्स) सम्बन्धी नवप्रवर्तनात्मक पहलका लागि उक्त सम्मान प्राप्त गरेको जनाएको छ।

ADVERTISEMENT

इन्फोसिस फिन्याकलद्वारा हरेक वर्ष आयोजना गरिने यो अवार्ड कार्यक्रम विश्वभरका बैंक तथा वित्तीय संस्थाहरूले गरेका उत्कृष्ट नवप्रवर्तन, डिजिटल रूपान्तरण र सेवा सुधारका अभ्यासहरूलाई सम्मान गर्न सञ्चालन हुँदै आएको छ।

यस वर्ष नौ विभिन्न विधामा विश्वभरबाट ५०० भन्दा बढी आवेदन परेका थिए। तीमध्ये कुमारी बैंकले आफ्नो केवाईसी कार्यप्रवाह अनुपालन प्रणालीमार्फत उत्कृष्ट प्रदर्शन गर्दै प्ल्याटिनम सम्मान हासिल गरेको हो।

ADVERTISEMENT

बैंकका अनुसार उक्त प्रणालीले ग्राहक पहिचान प्रक्रियालाई थप छरितो, सुरक्षित र प्रभावकारी बनाएको छ। साथै, नियामकीय मापदण्डहरूको कडाइका साथ पालना गर्न सहयोग पुर्‍याउनुका साथै डिजिटल प्रविधिको प्रयोगमार्फत सेवा प्रवाहलाई अझ पारदर्शी, सहज र भरोसायोग्य बनाउन योगदान दिएको छ।

यस अन्तर्राष्ट्रिय सम्मानसँगै कुमारी बैंकले नवप्रवर्तनमा आधारित सुरक्षित, भरपर्दो तथा ग्राहककेन्द्रित बैंकिङ सेवा प्रदान गर्ने आफ्नो प्रतिबद्धतालाई थप मजबुत बनाएको जनाएको छ।

बैंकले आगामी दिनमा डिजिटल बैंकिङ समाधानको विस्तार गर्दै ग्राहकलाई अझ सहज, आधुनिक र उत्कृष्ट बैंकिङ अनुभव उपलब्ध गराउन निरन्तर प्रयास गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ।